पत्र-पत्रिकाबाट

घाइते गाईको मृत्यु पछि मानिसको झै अन्तिम सँस्कार

  • ४ असोज बिहीबार, २०७५ | ०५:३०:०० मा प्रकाशित

पाल्पा । करिव १५ दिन पहिले ट्याक्टरको ठक्करबाट घाइते भएको एउटा गार्इ तानसेनको टुडिखेलमा मृत्यु भएपछि त्यसलाई हिन्दु परम्परा अनुसार मृत्यु संस्कार अर्थात दाह संस्कार गरिएको छ । मानिसको मृत्यु जस्तै गरी मृत गाइको विश्व हिन्दु महासंघ पाल्पाको अगुवाइमा अन्तिम संस्कार गरिएको हो ।

घाइते गार्इको पशु चिकित्सकको निगरानीमा उपचार गर्दागर्दै मृत्यु भएपछि मृतक गाईलाई नुहाइदिनुका साथै फूलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित सबै मानिसले पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेपालको राष्ट्रिय जनावरको रूपमा लिइने मृतक गार्इलार्इ हरेराम लेखिएका पहेँलो बस्त्रले ढाकिएको थियो।

गाईको महत्वको बारेमा सन्देश दिनको लागि विधिवत् रुपमा मृतक गाईको दाहसंस्कार गरिएको विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य शंकर गिरीले बताए। उनका अनुसार हिन्दु धर्म मान्नेहरूका लागि महत्वपूर्ण मानिने र बहुगुणी रहेको गाईलाई पछिल्लो समयमा स्याहार गर्न छोडेको भन्दै गाईको महत्वबारे जानकारी दिनको लागि हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो । 

विश्व हिन्दु महासंघ पाल्पाका वरिष्ठ उपाध्यक्ष होमनाथ न्यौपानले अन्य जनावरको तुलनामा गाईका फरक महत्व रहेको बताए। उनले भने ’संसारमा गाई, गंगा, तुलसी र शालिग्राम गरी चार कुराको महत्व छ। लक्ष्मी माताको रूपमा लिइने गाईको शरिरमा सम्पूर्ण तेत्तिसकाटी देवता रहेको विश्वास गरिन्छ ।’ 

गाईलाई पृथ्वीको रूप मानेर संसारमा सृष्टि गरेर जनतालाई पालनपोषण गर्नको निम्ति गाईबाट गोबर दूधलगायत मान्छेले उपभोग गर्ने अधिकांश वस्तुहरू गाईबाट दोहन गरेको पण्डितसमेत रहेका न्यौपानेले बताए। उनका अनुसार आदिम कालको सृष्टिमा गाईलाई लक्ष्मीको रूप मानेर पूजा गर्न थालिएको थियो। अहिलेपनि पूजा गर्ने चलन छ उनले थपे गाईको गोबर, मुत्र, दूध मानिसको जन्म तथा मृत्यु सबै संस्कारमा आध्यात्मिक हिसाबले प्रयोग गरिन्छ ।

पछिल्लो समय गाइ पाल्ने चलन हराउदै गएको र गाइबाट उत्पादन लिएपछि यसलाई वेवारिसे अवस्थामा सडकमा छाडिदै आइएको पाइन्छ । पाल्पामा पनि यस्ता गाइहरु थुप्रै रहेका देखिन्छन जसलाई स्हाहार सुसार गर्नुपर्ने खाचो रहेको महासंघका केन्द्रिय सदस्य शंकर गिरीले बताए । स्रोत : नेपाल समाचारपत्र

तपाईँको मत