विद्युत

ऊर्जामा लगानी गर्न चिनिया राजदुतलाई उर्जामन्त्री पुनको आग्रह

  • ३ असोज बुधबार, २०७५ | २१:०१:०० मा प्रकाशित

काठमाडौँ । नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँस्थित चिनियाँ राजदूत यू होङसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा ऊर्जा संयन्त्रको बैठक र द्विपक्षीय हितका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ । 

यही असोज ११ र १२ गते नेपाल र चीनबीच पहिलो पटक ऊर्जा संयन्त्रको बैठक बोलाइएको छ । बैठकमा ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र ऊर्जामन्त्रीको आगामी चीन भ्रमणका विषयमा छलफल भएको थियो । 

चीनसँग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ । भेटमा ऊर्जामन्त्री पुनले अन्तरदेशीय प्रसारण लाइन र जलविद्युत् आयोजना निर्माण लगायतका विषयमा संयन्त्रको बैठकमा छलफल हुँदा त्यसले दुवै देशलाई फाइदा पुग्ने धारणा व्यक्त गरे । 

नेपालको जलविद्युत् क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै उनले चिनियाँ लगानीकर्तालाई लगानीको वातावरण बनाइदिन आग्रहसमेत गरे । 

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका ऊर्जामन्त्री पुनले प्रसारण प्रणाली निर्माण गर्नेसम्बन्धी बिम्स्टेक सदस्य राष्ट्रबीच भएको सम्झौताले बजार विस्तारमा टेवा पुगेको बताउँदै चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे । उनले सरकारको विकास र समृद्धिको सपनालाई पूरा गर्न पनि लगानी आवश्यक रहेकामा जोड दिए । 

बङ्गलादेशसँग भएको सम्झौतालेसमेत बजार विस्तारमा थप सहयोग पुग्ने भन्दै ऊर्जामन्त्री पुनले सार्क फ्रेमवर्क सम्झौताअनुसार बिजुलीको आयात र निर्यातमा कुनै समस्या उत्पन्न नहुने बताए । 

भेटमा चिनियाँ राजदूत होङले ऊर्जामन्त्री पुनको पहलमा पहिलो पटक संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको भन्दै त्यसका लागि धन्यवादसमेत दिएका थिए । 

उनले संयन्त्र बनेपछि त्यसले दुवै देशको ऊर्जा क्षेत्रलाई फाइदा पुग्ने भन्दै त्यसले सम्भावनाको नयाँ ढोका खोल्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको गत असारमा भएको चीन भ्रमणका क्रममा ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर दुवै देशबीच ऊर्जा क्षेत्रमा संयन्त्र निर्माण गर्ने सहमति भएको थियो । 

चिनियाँ राजदूतले संयन्त्रको बैठकमा नेपालले ऊर्जा क्षेत्रको अवस्था र ऊर्जा क्षेत्रको विकासका लागि के–कस्ता नीति सरकारले अघि सारेको छ त्यसबारेमा समेत आफ्नो नीति सार्वजनिक गर्दा चिनियाँ लगानीकर्तालाई सजिलो हुने सुझावसमेत दिए । 

चिनियाँ राजदूतसँगको भेटमा चिनियाँ लगानीमा सञ्चालित परियोजनामा भएका समस्या, नेपालले यसअघि वेल्ट एण्ड रोड फण्डमा पठाएका जलविद्युत् परियोजना र प्रसारण लाइनको अवस्था र आगामी दिनमा ऊर्जा क्षेत्रमा गर्ने सहकार्यबारे समेत छलफल भएको ऊर्जामन्त्री पुनको सचिवालयले जनाएको छ ।RSS

तपाईँको मत