गाउँ सहर

शालिग्राम संरक्षणका लागि सङ्ग्रहालय

  • ३ असोज बुधबार, २०७५ | १९:०७:०० मा प्रकाशित

कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीहरूले पवित्र मान्ने शालिग्रामको बाग्लुङमा सङ्ग्रहालय निर्माण गरी संरक्षण गर्न लागिएको छ।

शालिग्राम संरक्षणमा राज्यले ध्यान नदिँदा यसको चोरीनिकासी हुन थालेको कतिपय बताउँछन्।

कालीगण्डकी नदीमा मात्र पाइने कालो रङ्गको बाटुलो, चिल्लो ढुङ्गालाई शालिग्राम शिला भनेर पुजिने भएकाले त्यसको संरक्षणका लागि बाग्लुङ नगरपालिका-४ कुँडुले फेदीमा सङ्ग्रहालय निर्माण गर्न लागिएको छ।

स्वामी ऋषिप्रपन्नाचार्यका अनुसार वैष्णव तथा अन्य सनातनीहरूले विष्णुको अवतारको रूपमा पुज्दै आएका शालिग्राम संरक्षण तथा त्यसको महत्त्वलाई विश्वव्यापीकरण गर्न सक्रिय स्वामी श्रीधराचार्यको नाममा सङ्ग्रहालय निर्माणको काम सुरु गरिएको छ।

'शालिग्राम बन्न हजारौँ वर्ष लाग्छ, वैज्ञानिक दृष्टिकोणले पनि शालिग्राम धेरै वर्ष पहिले बन्यो, अब हत्तपत्त बन्न सम्भव पनि छैन, यो सबैले बुझेको कुरा हो त्यसैले यसको संरक्षण हुनुपर्छ,' उनले भने।

वैज्ञानिकहरूका अनुसार शालिग्राम लाखौँ वर्ष पहिले अस्तित्वमा रहेको टेथिस सागरमा पाइने विभिन्न जीवहरूको जीवाश्म हो।

मुक्तिक्षेत्र र कालीगण्डकी नदी शालिग्राम शिला पाइने स्थानका रूपमा प्रख्यात छ।

रङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम, तिरुपति बालाजीधाम परिसरमा सङ्ग्रहालय निर्माणको काम भइरहेको छ।

स्वामी ऋषिप्रपन्नाचार्यका अनुसार शालिग्राम फोडेर स्वरूप परिवर्तन गर्ने, अवैध रूपमा एक्स्काभेटर प्रयोग गरेर नदीबाट बालुवा गिटी उत्खनन गर्ने र नदीलाई खेतीका लागि प्रयोग गरिने क्रम बढेकाले शालिग्राम संरक्षणको आवश्यकता भएको हो।

हाल यहाँ करिब २० हजारभन्दा बढी शालिग्राम रहेकाले तिनै शालग्रामलाई व्यवस्थित गरी सङ्ग्रहालयमा राखिने छ।

गुफाभित्र सङ्ग्रहालय बनाउने तयारीअनुसार अङ्ग्रेजी अक्षर टीको आकारमा १६० फिट लामो सुरुङ निर्माणको काम भइरहेको बताइएको छ।

शालिग्राम शिलाको महत्त्वसँगै दामोदरकुण्डदेखि त्रिवेणीधामसम्म विभिन्न नदी र मठमन्दिरका नक्सा तथा शालिग्राम र गण्डकीको महत्त्व र महिमामा केन्द्रित वृत्तचित्रसमेत राख्ने तयारी गरिएको बताइएको छ।

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारमा जाँदा घरमा पूजाआजा हुन छाडेपछि अभिभावकहरूले घरमा भएको शालिग्राम पनि मन्दिरमा लगेर दिने गरेका छन्।

सोही स्थानकी दुर्पदी सापकोटाले पहिले बिहानबेलुका घरघरमा शालिग्रामलाई पुज्ने गरेपनि अहिले विदेश जानेको सङ्ख्या बढ्दै गएपछि यसको संरक्षण हुन नसकेको बताइन्।

उनले भनिन्, 'शालिग्राम रुनुभएको छ घरघरमा, त्यसैले सङ्ग्रहालयमा लगेर दिएपछि त्यहाँ दैनिक पूजा हुन्छ। यसले शालिग्रामको संरक्षण पनि हुन्छ अनि भगवान्‌को सेवा पनि हुन्छ।'

शालिग्रामको संरक्षण नहुँदा चोरीनिकासी समेत बढ्न थालेको पाइएको छ।

बाग्लुङमा करिब चार करोड रुपैयाँको लागतमा बन्न लागेको सङ्ग्रहालय निर्माण भए हिन्दुहरूको आकर्षणको केन्द्र बन्न सक्ने एवम् शालिग्रामको प्रवर्धनसमेत हुने अपेक्षा गरिएको छ।बीबीसी न्यूज

तपाईँको मत