गाउँ सहर

टनेलमा तरकारी खेती

  • ३ असोज बुधबार, २०७५ | १८:००:०० मा प्रकाशित

मेलम्ची । मेलम्ची नगरपालिका–८ केउरानीका कोमल गिरीले यस वर्ष पाँच टनेलमा गोलभेँडा खेती गरे । व्यावसायिक रुपमा गोलभेँडा खेती गरेका गिरीले यस वर्ष चार टनेल थपे । उनले गोलभेँडा प्रतिकिलो रु ५० मा बिक्री गर्दै आएका छन् । 

टनेलमा गरेको गोलभेँडा र अन्य तरकारी खेतीबाट उनले दुई वर्षमा रु ४९ हजार नाफा कमाए। टनेलमा तरकारी खेती गर्दा अन्न बालीभन्दा झण्डै १० गुणा बढी आम्दानी हुने गरेको उनको भनाइ छ । “टनेलमा पहिलो पटक तरकारी खेती गरेको हुँ । एउटा याममा खर्च कटाएर रु २० हजार नाफा भयो,” गिरीले भने । 

पचास प्रतिशत अनुदानमा चार टनेलका लागि प्लास्टिक खरीद गरी गिरीले पाँचै टनेलमा थोपा सिँचाइ सेट जडान गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले दुई तथा केयर नेपाल र आत्मनर्भर केन्द्रको जीविकोपार्जन सुपर परियोजनाले दुई टनेलका लागि प्लास्टिक ५० प्रतिशत अनुदानमा किनेको गिरीले बताए । 

उनी भन्छन्, “टनेलमा थोपा सिँचाइमार्फत खेती गर्दा थोरै पानीले सिँचाइ गर्न सकिने, झार कम आउने भएकाले समयको बचत भई अन्य काम गर्न पाइने र उत्पादन पनि दशौँ गुणा बढ्ने रहेछ ।” केउरानीमै कृषिउपज सङ्कलन केन्द्र भएकाले बजारको समस्या छैन । 

विसं २०७३ मा पहिलो पटक गोलभेँडाबाट रु १८ हजार नाफा लिएको गिरी बताउछन् । संस्थाले निःशुल्करुपमा तरकारीको बीउ, टनेल निर्माणका लागि प्लास्टिक, केही कृषि औजार, थोपा सिँचाइ सेट र व्यावसायिक तरकारी खेती सम्बन्धी तालीम उपलब्ध गराएपछि तरकारी खेती गर्न सहज भएको हो । 

जिल्लामा गोलभेँडा खेतीमा गिरीसँगै ४०० भन्दा बढी किसान आबद्ध छन् । बीउबिजन तथा सामग्री सहयोग पाएपछि किसान तरकारी खेती गर्न उत्प्रेरित भएका छन् । टनेल वरपरको जग्गामा अलैँची, भेडे खुर्सानी, भण्टाका साथै किबी, अनार, कागती, अलैँची, जुनार, नास्पातीलगायतका फलफूलसमेत किसानले लगाउने गरेका छन् ।RSS 

तपाईँको मत