निर्माण

पशुपति क्षेत्रका संरचनाहरुको पुनर्निर्माण र वृहत्तर गुरुयोजना बनाउन प्राधिकरणले सहयोग गर्ने

काठमाडौँ । भूकम्पबाट भत्किएका पशुपति क्षेत्र विकास कोष अन्तर्गतका संरचनाहरुको पुनर्निर्माण र पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । 

क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र आवश्यक परे आर्थिक सहयोग समेत गर्ने भएको हो । 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल सहितको टोलीसँग छलफल गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीहरुको प्रयोगका लागि प्राधिकरणले आवश्यक पुरातत्वविद् तथा इन्जिनियरिङ जनशक्ति लगायतमा सहयोग गर्ने बताए । 

पशुपति क्षेत्र विकास कोष अन्तर्गतका भूकम्पबाट प्रभावित भएका पुननिर्माण गर्नुपर्ने संरचना र प्रवलीकरण गर्नु पर्ने संरचनाहरुको लागि स्पष्ट योजना माग गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आर्थिक स्रोतको अभाव नहुने बताए । उनले धार्मिक र पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गरी संरक्षण गर्नुपर्नेमा जोड दिए । 

पुनर्निर्माण  गर्दा  पर्यावरणीय सन्तुलन र सांस्कृतिक सम्पदाहरुको संरक्षण कार्यलाई एकासाथ अगाढि बढाउनुपर्ने र त्यसो गर्दा प्राधिकरण, कोष, पुरातत्व विभाग, विज्ञ, स्थानीय समुदाय लगायतबीच समन्वय र सहकार्य हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ । 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले बजेट भएपनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको भन्दै सहयोगका लागि प्राधिकरणलाई आग्रह गरेका थिए । 

‘पुनर्निर्माणका लागि विनियोजन भएको बजेट समेत खर्च गर्न सकिएको छैन । पुनर्निर्माणका बाँकी काम गर्न समेत प्राधिकरणले परामर्शदाता र जनशक्ति उपलब्ध गराउन आवश्यक छ’–सदस्य सचिव डा ढकालको भनाइ थियो । 

गत वर्ष पशुपति क्षेत्रको पुनर्निर्माणका लागि २० करोड रुपौयाँ विनियोजन गरिएको थियो । 

पशुपति क्षेत्र  विकास कोषका अनुसार शेलेष्मान्तक वनसँग जोडिएको पन्ध्र शिवालयका मन्दिर क्षेत्र जमीन भासिएकाले सो क्षेत्रमा भूसंरक्षण गर्नुपर्ने र मन्दिरहरुको जीर्णद्वार र संरक्षण गर्न आवश्यक छ । यस्तै सत्तल बनेपनि विश्वरुपा मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन । जयवागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदाहरु, गौरीघाट क्षेत्रमा रहेका बज्रघर र पञ्चदेवल, गुहेश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाहरुको पुनर्निर्माण अघि बढ्न सकेको छैन । ‘पुनर्निर्माण गर्छु भनेर ठाउँ ओगट्ने तर निर्माण नगर्नेसँग पनि हामीले सम्झौता तोडेर आफै बनाउने निर्णय गरेका छौं, सदस्य सचिव डा. ढकालले भने–‘पुनर्निर्माणका कामलाई अघि बढाउन पनि त्यसको विकल्प देखिएन’ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका साथसाथै हिन्दू धर्मको दर्शनिक पक्ष र पशुपतिनाथको पौराणीकतालाई ध्यानमा राखेर गुरुयोजना बनाउन सुझाव दिएका छन् । ‘गुरुयोजना तयार पार्दा पवित्र धार्मिक क्षेत्र र दर्शनार्थीहरुको सेवा र सुविधा क्षेत्र गरी सामग्र क्षेत्रलाई दुई भागमा राखी गुरुयोजना बनाउनु उपयुक्त हुनेछ’, उनले भने ।  

पशुपति क्षेत्र विकास कोषका अनुसार २०४६ सालमा बनेको गुरुयोजना कार्यान्वयन हुन सकेन भने २०५६ सालको योजना पनि अपेक्षा गरे अनुसार अघि बढन सकेन । थियो ।  हाल पशुपति क्षेत्र विकास कोषसँग पशुपतिनाथ क्षेत्रको दीर्धकालिन विकास योजना नहुँदा योजनाबद्ध ढंगले पशुपतिनाथ मन्दिर  क्षेत्रको मन्दिरहरुको संरक्षण र विकास कामलाई योजनाबद्ध ढंगले अगाडि बढाउन सकिएको छैन । सदस्य सचिव डा.ढकालले गुरु योजना बनाउने प्रक्रिया सुरु गरेको भन्दै सबै पक्षको सहयोग र सुझावमा अन्तिम रुप दिने बताए । उनले नेपाल सरकार अन्तर्गतका नापी विभाग, वातवारण विभाग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतसँगको सहकार्यमा गुरुयोजना बनाउने प्रक्रिया अघि बढाएको जानकारी दिए । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गौशालादेखि जयवागेश्वरी, जयवागेश्वरीदेखि गुहेश्वरी, गुहेश्वरीदेखि एयरपोर्ट र एयरपोर्टदेखि गौशालाको क्षेत्रलाई समेटेर गुरुयोजना बनाउन सुझाव दिएका छन् । 

छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ, सम्पदाविद् सुर्यभक्त सांगाछे, पुरातत्व अधिकृत भिष्म बाँस्कोटा लगायत सहभागी थिए । यस्तै पशुपति क्षेत्र विकास कोषका सञ्चालक समिति सदस्य रमेशराज शिवाकोटी, घनश्याम उपाध्याय कोइराला लगायत उपस्थित थियो । 
 

तपाईँको मत