दृष्‍टिकोण

अलमलिएको गोरखा कांग्रेस

आत्मबलको शुरुआत र पराजित हिनताबोधको अन्त्य

  • हरि धिताल
  • ३ असोज बुधबार, २०७५ | १४:१३:०० मा प्रकाशित

गोरखा कांग्रेसको संगठन अलमल्लमा छ । २५% कांग्रेस त्यही दुर दराजका बस्तीहरुमा संगठनको अन्तिम जिम्मेवारी लिएर बसेको छ । २५% कांग्रेस आफ्नो भाग्य र भविश्यको विदेशी भूमिमा पसिना बगाउँदै क्षतविक्षत कांग्रेस सम्झिरहेको छ । १०% कांग्रेस दाजुवाद, भाउजुवाद र गुलामवादको बाटोमा हिँडिरहेको छ । 

२५% कांग्रेस आफ्नै भाग्य र भविश्यको खोजीमा शहरका सडक र गल्ली-गल्लीमा भौँतारिएको छ । बाँकी १५% कांग्रेस चौबाटोमा यता जाउँ की उता जाउँ कि भनेर भौँतारिएको छ । तरपनि कांग्रेस भित्रको हालिमुहाली तिनै १०% नेताको गुलामवादको पक्षमा छ । अनि कसरी बन्छ समृद्ध र शक्तिशाली कांग्रेस र कांग्रेसको संगठन ? 

बीपी कोइरालाको उक्तिलाई यहाँ जोड्न चाहन्छु कांग्रेस हिमाल, पहाड र तराईमा रहने सबै तह र तप्काका आम लोकतन्त्र र प्रजातन्त्र हिमायती सिपाहीहरुको साझा फुलबारी हो । नेताहरुको पद र कुर्सीको लागि प्रतिस्पर्धा गर्ने रंगशाला होइन ! परिवर्तनको आँधी ल्याउँछु भन्ने, संगठनलार्इ मजबुत बनाउँछु भन्ने, आफ्नै कार्यकर्तालार्इ दास बनाउन खोज्ने अनि संगठनलाई मजबुत भयो भनेर खुशियाली गर्ने, धोती र टोपी लगाउने कांग्रेसलाइ बिर्सने, अगाडि मात्रै हेर्ने पछाडी बिर्सने परिपाटीले कसरी बन्छ गोरखामा शक्तिशाली कांग्रेस ? विदेशमा पसिना बगाएका २५% कांग्रेसलार्इ सम्झनुहोस उताबाट यता फर्कनु होस गाउँका दुर दराजका भैँसी, बाख्रा चराउँदै मेलापातमा कांग्रेसको बखान र व्याख्या गर्ने जनता लाई सम्झनुहोस् । पसिना बगाउँदै आहोरात्र खट्ने कर्मशिल कार्यकर्तालाई सम्झनु होस् । अनि बिर्सनुहोस दाजुवाद, भाउजुवाद र गुलामवादका झोलेहरुलाई । अनिमात्र संगठन मजबुत र रचनात्मक हुनेछ । 

२०५२ देखि ६२/६३ सम्म ३० जना भन्दा बढी कांग्रेसका होनहार अग्रज हरुको साहदत गरेको रक्त सिञ्चित भूमिलाई एकपटक फर्केर हेर्नुहोस, सहिदहरुको सपना पुरा भयो कि भएन ? उनिहरुको आत्माले शान्ति पायो कि पाएन ? बेला बेलामा बजाउने बेमौसमी बाजाले मात्रै संगठन तयार हुँदैन । वैचारिक रूपमा कमजोर भएको कांग्रेसलाई वैचारिक रूपमा नै प्रशिक्षित र कृयाशिल बनाउनु पर्छ । नेतृत्वमा रहने नेतृत्वकर्ताले आत्मलोचना नभए सम्म संगठनको नयाँ शक्ति र नयाँ स्वरूपको रुपरेखा तयार गर्न गाह्रो छ । 

नेतृत्वले समय बाँकी छँदै सोच्न बाध्य बनोस् । कार्यकर्तालार्इ हिनताबोध र आत्मग्लानी हुने विगतका गल्तीहरु अब गरिने छैन भन्ने आत्मबोध हुन अपरिहार्य छ ।

संगठनिक रुपमा शिथिलताले गालेको कांग्रेसलाई गतिशीलता र क्रियाशिलता दिँदै चलायमान बनाउने मन्त्र र विकल्प के हो त ? आम कार्यकर्ताको आशा र अपेक्षा लाई बक्र दृष्टीले कहिले सम्म हेर्ने ? यसमा गम्भीर भएर गोरखा कांग्रेसले सोचेको छ त ? यदाकदा वर्षमा एकपटक हुने प्रशिक्षणले हामीलाई पुर्नजागरण र चलायमान बनाउँछ त ? धेरै विषयमा दोधार र अनभिज्ञता छ । नेतृत्वका एक दुर्इ जनाको सुँगा रटाइले मात्रै संगठन बलियो आधार देखिँदैन । वैचारिक रुपमा तिखारिएको संगठनिक स्वरूप एकबद्द र गोलबद्द भएको संगठन, पार्टीको सिद्धान्तलाई आत्मसात गर्ने चलायमान गोरखा कांग्रेसको आजको आवश्यकता हो । 

आम कार्यकर्ताको सिर्जनाशिलता र सामुहिकता आजको आवश्यकता हो । आम कार्यकर्ताको चाहना र हाम्रो भूगोलको आवश्यकता नेतृत्वले पहिचान गर्छ कि गर्दैन यो मुख्य विषय हो । यो हाम्रो नबिन आशा र अपेक्षा पनि हो । जहाँ कमजोर छ त्यहाँ झन कमजोर बनाउने जिल्ला पार्टीको नीति आफैंमा आत्मघाती गोल हो । 

११ स्थानीय तह मध्ये ९ स्थानीय तहमा एकछत्र विजय हासिल गरेको गोरखा कांग्रेस संघीय र प्रदेश चुनावमा आफ्नै कारणले खुम्चिनु पर्यो । कांग्रेसले जितेको ४ वटा गाउँपालिका मिलाएर बनाइएको एउटा प्रदेशमा कांग्रेस पराजित हुनु पर्यो । यसलार्इ कांग्रेसको हार होइन सम्बन्धित उम्मेदवारको हार भनेर परिभाषित गरियो । यो परिपाटी अनन्तकाल सम्म दुर्भाग्यको शिरा हो । हारको सबै जिम्मेवारी घुमार्इफिरार्इ सम्बन्धित उम्मेदवारलाई लगाउने जमर्को गरियो यो दुःखद क्षण हो । 

आम कार्यकर्तालाई अर्ती उपदेश दिने नेतृत्व पहिले आफैँ प्रशिक्षित र सुधारिएको हुनु जरुरी छ । विगतका सयौं गल्तीहरुबाट अब हामीले सिक्ने कि त्यसैलाई निरन्तरता दिने यो आम कार्यकर्ताको अधिनमा छैन । नेतृत्वले समय बाँकी छँदै सोच्न बाध्य बनोस् । कार्यकर्तालार्इ हिनताबोध र आत्मग्लानी हुने विगतका गल्तीहरु अब गरिने छैन भन्ने आत्मबोध हुन अपरिहार्य छ । जनसरोकारका विषयहरुमा बुलन्द आवाज बनाउन कांग्रेस किन चुक्दै छ । आफ्नै परिवारलाई पिडा दिने, गोली ठोकेर मार्ने घाइते, अपांग, विस्थापित र सहिद परिवारले उसैलाई भोट हालेर जिताउनु पर्ने गोर्खा कांग्रेसको नैतिकता, चरित्र र लोकतान्त्रिक पद्धति हो ? समयको माग हो वा नेतृत्वको कमजोरी हो ? हार हुँदाहुँदै पनि हामी पराजित छैनौं भन्ने आत्मबलको शुरुआत र पराजित हिनताबोधको अन्त्य आम गोरखाली कांग्रेसको चाहना र समयको माग हो । 
 

तपाईँको मत