दृष्‍टिकोण

ग्राहक ठगिने मौसम, होशियार !

नुनदेखि सुनसम्म, सियोदेखि फालीसम्म छलकपटका घटना परम्परा नै बनेको छ

जब चाडवाडको क्रम सुरु हुन्छ तब नेपाली बजार निकै उथलपूथल हुने गर्छ । नुनदेखि सुनसम्म, सियोदेखि फालीसम्म छलकपटका घटना परम्परा नै बनेको छ । हरितालीका तीजसँगै जुरमुराउने चाडको लर्को कार्तिक अन्तिमसम्म चलिरहन्छ । यहि ठुला चाडको मुख पारेर बजारमा अनेकौँ कमाइको खेलमा वस्तुहरू पर्ने गरेका छन् । त्यसको मार भने सर्वसाधारण ग्राहक नै परेका छन्, भलै ऋण गरेको पैसाको प्रयोग नै किन नहोस् । ठगिने मौसम अब सुरु भइसकेको छ, त्यसैले सावधानी महत्वपूर्ण छ ।

यो ठगिने पक्षमा नजान्ने र सोझा जनता त पर्नेनै भए, जान्ने मान्छेहरूपनि आर्थिक रुपमा सहिद हुने गरेका छन् । सरोकारवाला निकायको देखावटी बिकाहा छ । निरीक्षण गर्नुपर्ने समय कानमा तेल हाल्ने र अन्यबेला तात्ने अब नौलो उक्ती भएन । बजार झिल्के भएकोबेला ठगी प्रशस्त हुन्छ तर निकायको कुनै प्रभावकारी भूमिका देखिँदैन । यहि कारण वस्तु निर्माण र बिक्रीमा झालझेल बढ्ने गरेको छ । फेरी छोटो समयमै कमाउने गलत शैलीले गर्दापनि चाडवाडको मौका चौका हान्नेको लागि उपयुक्त बन्दै गएको छ । अनुगमन विभागको अनुगमनमा साना मार्टदेखि ठुला महलसम्ममा बिक्री बितरण भएको सामानमा ठगी भएको प्रकरण सामुन्ने आइनैरहेका छन् । तर, भोलिपल्टै बजारमा बेथिति गर्ने ती व्यापारिक मलहरुको कारवाही ओझेलमा पर्छन् । आम उपभोक्ताले सबै छलकपट रातारात मिलाइएको आशंका पटक पटक नगरेका होइनन् । 

चाडवाडकै बेला आकर्षक तुल, ब्यानर, पम्प्लेट र विज्ञापन गरि अब्बल बस्तु तथा उत्पादन गर्ने निर्माताको पनि छवि बिगार्ने गरिएको छ । यहि आकर्षणले सर्वसाधारण प्राय:जसो ठगिएका छन् भन्दा फरक नपर्ला ।

यतिमात्र होइन, अहिले बजारमा स-साना वस्तु तथा उत्पादनमा मिसावटको मात्रा बढेको छ । कपडा, गरगहना र दैनिकी जीवनमा आवश्यक पर्ने अधिक सामानहरुमा अदृश्य रुपमा मिसावट बढ्नु, कमसल वस्तु फेला पर्नुले बजारको अनुगमन फितलो भएको महशुष गरिन्छ । 

अवस्था यतिसम्म जालझेलबाट गुज्रिँदा सम्बन्धित निकायले काम गर्नेभन्दा हल्ला बढी गर्ने पाइएको छ । यस्तो नाटक निकायबाटै हुनाले मर्कामा परेका सर्वसाधारणको तालुमा आलुृ फलेको छ । अत्यावस्यकीय वस्तु तथा उत्पादनमा हुने यस्ता छलकपट बारम्बार दोहोरिएपनि केहि समय सुधार देखिएपनि पुनः निरन्तर चलिरहेको छ । निकायबाट निर्देशनमात्रै हुन्छ थप काम कारबाही अगाडि नबढ्दा यस्ता पक्षहरूमा धमिलो माछामार्नेको सँख्यापनि उक्तिकै वृद्धि हुँदै गएको छ । मौसम अनुसार आउने चाडवाडमा निकायको फितलो प्रदर्शनले जालझेल र अखाद्य वस्तुको मिसावट बढ्ने गरेको छ । तर, अपरिहार्यको बहानामा ग्राहकपनि सचेत नहुँदा मिठाइमा कोलिफर्म, मममा कुहिएको मासु, सुनमा पित्तल, घीउमा डाल्डा, तोरीको तेलमा आलस आदि मिसावटसँग जुध्नुपरेको छ । 

गाऊँमा उत्पादन भएको तरकारीको विषादी प्रसंग यहाँ देखिन्छ तर दिनदहाडै सम्पूर्ण वस्तुहरूमा गरिएको विषादी र मिति गुज्रेका उत्पादनहरूको चर्चा र कारबाही हुने गरेको छैन । सुन्न नपाउँदै  विषय लुकाईन्छ । देखावटीरुपमा कारबाहीको नाटक गरिएपनि दिर्घकालमा तीनै व्यक्तिहरू मोटाएका घटनाहरू जताततै देख्न सकिन्छ ।

बढ्दो सहरीकरण संगै बढेको बजार र केन्द्र अनि अनियन्त्रित बस्तीले दिनप्रतिदिन जोखिम बढाएको स्पष्टै छ । नाम मात्रका केन्द्रको स्थापनार्थ भ्रम छरिएपनि व्यवहारीक पक्षलाई मात्र आत्मसात गरिनाले नीतिगत् र कानुनी कुराहरू ओझेलमा परेका छन् । यसले खाद्य र मानव सुरक्षामा पनि गंभीर चोट पुर्याएको छ । यसकारण पनि समय र आधुनिकता संगै बढ्दो व्यवसायीकरणलाई मित्तव्ययी बनाउनु जरुरी भैसकेको यो परिपेक्षमा यस्ता छलकपट बढ्दै जानुले असुरक्षीत जीवनलाई छर्लङ्ग बनाइदिएको छ । समय-समयमा वस्तु तथा सेवाको गुण विस्तारमा वृद्धि गर्नको लागि पनि बजार निरीक्षण शैलीलाई निरन्तरता दिएपनि प्रभावकारीता नदेखिँदा समस्याहरू बढ्दै गएका छन् । यदि यस्ता कार्यक्रमहरूमा रोक्दै र पुनः शुरु गर्दै लागेमा त्यसको विश्वासनीयतामा प्रश्नचिन्ह उठ्ने हुनाले पनि दीर्घकालीन बनेका छैनन् । यसैको मौका छोपी वस्तु तथा उत्पादनमा जालझेलमा वृद्धि छाएको छ । 

गाऊँमा उत्पादन भएको तरकारीको विषादी प्रसंग यहाँ देखिन्छ तर दिनदहाडै सम्पूर्ण वस्तुहरूमा गरिएको विषादी र मिति गुज्रेका उत्पादनहरूको चर्चा र कारबाही हुने गरेको छैन । सुन्न नपाउँदै  विषय लुकाईन्छ । देखावटीरुपमा कारबाहीको नाटक गरिएपनि दिर्घकालमा तीनै व्यक्तिहरू मोटाएका घटनाहरू जताततै देख्न सकिन्छ । बजारमा एकाधिकार अनि बजार प्रतिश्पर्धाको नाममा छोटो समयमा बढी कमाउने प्रबृतिले स्थान जमाउँदा वस्तु, बजार र आम उपभोक्ता सबै मर्कामा परेका छन् । बुझ्ने निकायले बुझेको पनि छ तर चासो पासोको सञ्जालबाट बाहिर निस्कन सकेको छैन । यहि बिकृति मौलाउँदा उपभोक्ता पनि छरिएका छन् । रेमिट्यान्सको बेप्रयोग र देश भित्रको आर्थिक अनियमितताले मूल नै फोहोर बनाएको छ । यदि गलत क्रियालाई साथ दिनाले सामानको अभाव बनाई कालोबजारीमा सरकार आफैँ सहयोगी बन्ने गरेको छ । यसले परिश्रमी हातहरूलाई पाखा लगाउँदै गलत चरित्रको बढवामा वृद्धि गराएको छ । 

चाडबाडमा विशेष गरेर जालसाजी सँगै महंगी ह्वात्तै बढाउने गरिएको छ । जताबाटपनि ठगिनेमा आम उपभोक्ता नै पर्ने गरेका छन् । बजारको अभ्यासले के देखाउँछ भने प्रायः क्रृतिम अभाव देखाई मुल्यमा मनपरितन्त्र लाद्ने र वस्तुमा मिसावट गरिएको विभिन्न तथ्यहरू हामीमाझ ताजै छन् । अधिकाँश ग्राहकहरू वस्तु तथा उत्पादनबाट ढाड सेकिएको कथाको मात्रा बढाउँदै लगेका छन् । ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेजस्तै आम उपभोक्ताको दैनिकी जोखिमबाट गुज्रेको छ । यहाँ मुल्यमा मात्र होइन उत्पादनमै मिसावट बढ्नाले मुल्यसँगै जीवनको मनपरि बढ्दै गएको छ । स्वास्थ्य नै धन हो भन्ने उखानमा मात्र सीमित बनेको छ । सामानको उपलब्धता मात्रलाई प्राथमिकता दिँदा गुणस्तर पक्ष पाखा लाग्दै गएको छ । यहि कारण बजार अनियन्त्रित र महँगो भएको अभिलेखालयबाट प्रष्ट हुन्छ । प्रतिस्पर्धाको नाममा निरिक्षणलाई टोकरीमा सीमित गरिनाले बजार न जनमुखी बन्न सक्यो न गुणस्तरमुखी । यहि कारण ग्राहक लुटिनेक्रम ह्वात्तै बढेको छ भन्दा फरक नपर्ला ।

यावत पक्षलाई मध्येनजर गर्दै सरोकारवालाहरूले बजार निरीक्षण कार्यलाई नियन्त्रणभन्दा बाहिर जान दिनु हुँदैन । तल्लो तहसम्म फाइदा पुग्ने कार्य गर्न सक्यो भनेमात्र जनताले राहतको महशुष गर्न सक्छन् । यसकारण समग्र उपभोक्तालाई ध्यानमा राखी जनकेन्द्रित स्वार्थलाई दिमागमा राखेर लुटतन्त्रलाई समयमै निर्मुल पार्नुपर्दछ । योसंगै यस क्षेत्रमा हुनेगरेका अन्य बनावटी समस्याहरूलार्ई समयमै समाप्त पार्नु अहिलेको आवश्यकता हो ।

समय समयमा गरिने बजार अनुगमनलाई प्रभावकारी बनाइनुपर्ने, मुल्य नियन्त्रण, मिसावटमा थप सजगता, देखावटी प्रबृतिलाई निरुत्साह गर्ने, वितरण पक्षलाई समानुपातिक जस्ता पक्षहरूलाई समाधान गर्न सके ग्राहक ठगिनेक्रम केहि कम हुन सक्छ । तर, यदि अब पनि टालटुले प्रबतिलाई निरन्तरता दिने हो भने कानूनको अभाव र पदीय संरक्षणमा सरकार मात्रले केहीपनि गर्न सक्दैन । यस कार्यमा सबैको इच्छाशक्ति बढाउनै पर्दछ । यस्ता पक्षमा सुधार गर्न सकेमात्र भविश्यमा सन्तुलित बजार र वितरण, सकारात्मक र गुणात्मक वस्तु तथा उत्पादनको विकास हुन सक्छ । नत्र एक पछि अर्को आउने नेतृत्व फेरिन्छन तर कारवाही नफेरिँदा जनताले न्याय पाउन सक्दैनन् । तसर्थ, ग्राहकलाई भगवान मान्ने परम्परालाई कायम गर्दै निरीक्षणको दायरालाई फराकिलो बनाउनु अहिलेको अपरिहार्यता हो । 

तपाईँको मत