दृष्‍टिकोण

अनुसन्धान त्रुटिका कारण कञ्चनपुर घटना पेचिलो बन्दै

दोषी कुनैपनि हालतमा उम्कनु हुँदैन : स्थानीय

महेन्द्रनगर । कञ्चनपुर उल्टीखामकी १३ वर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको प्रमाणित भएपनि अहिलेसम्म घटनाले किनारा पाएको छैन । घटनाको २५ दिनपछि प्रहरीले दोषी भनेर सार्वजनिक गरेको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया  व्यक्ति अहिले आएर निर्दोश रहेको भनि छुटेका छन भने अनुसन्धानमा रहेका बम दिदीबहिनीपनि छुटेका छन् । मानसिक अवस्था ठिक नभएका स्थानीय दिलिपसिंह विष्ट दाषी होइनन् नै भन्दै स्थानीयले मुख्य दोषीको खोजी गर्न चरण चरणका आन्दोलन गरे । यसबीचमा प्रहरीकाे गाेली लागेर स्थानीय शनी खुनाको ज्यान गयो ।

एक जनाको ज्यान र कयौँ घाइते अनि कञ्चनपुर पुरै अशान्त भएपछि केन्द्र तात्यो, प्रहरीको उच्च नेतृत्व फेरियो । राहतस्वरुप पीडित परिवारलाई क्षतिपूर्ति दिलाइयो । नयाँ टीम अनुसन्धानमा खटियो तर यतिका समय बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन ।

अनुसन्धानमा स्थानीय तहदेखि केन्द्रसम्मका विभिन्न अधिकारीहरु कार्यरत भएपनि अहिलेसम्म अनुसन्धानले काममा पूर्णता प्राप्त गर्न सकेको छैन । उल्टै अनुसन्धानकता समितिका सदस्य कहिले राजिनाम लेख्ने अनि कहिले फेरी रोक्ने गर्न थालेका छन् । समिति सदस्यले जीवनरक्षाको लागि अपिल पनि गरेका छन् । यसको मतलव खतराको संकेत देखिन थालेको छ ।

अनुसन्धानकै दौरानमा प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले स्थलगत भ्रमणपछि प्रहरी अनुसन्धानमा त्रुटि भएको बताएका थिए । गृहमन्त्री र प्रधानमन्त्रीपनि यो घटनाको दोशी उम्कन पाउनु हुँदैन भनेर भनिरहेका छन् । प्रहरीको नयाँ टिमले काम पनि गर्यो । अघिल्ला अनुसन्धानमा पक्रिएका व्यक्तिहरु छाडिए, यसको उत्तरमा निर्दोश नै देखियो । यसले प्रहरीको अनुसन्धानमै प्रश्नहरु खडा गरिदिएको देखिन्छ । पहिलो अनुसन्धान नै गलत थियो भन्ने महानिरीक्षक खनालको शब्द मिल्न जान्छ । 

पछिल्लो अवस्थाले निर्मला पन्त हत्यापछि प्रमाण नष्ट गर्न संलग्न हुनेहरूमाथि नै कारवाही हुनुपर्ने आवाजहरु उठेका छन् । उनीहरुले घटनाको प्रमाण नष्ट गरेर निर्दोषलाई फसाउन खोज्ने कारण के हो र कसलाई जोगाउन प्रमाण ढाकछोप गर्न खोजियो भन्ने जवाफ दिनुपर्ने बताएका छन् । उनीहरुले नयाँ फौजदारी मुलुकी संहितामा समेत प्रमाण नष्ट गर्नेलाई कैद, जरिवाना र क्षतिपूर्तिको व्यवस्था भएकाले लापरबाही गर्ने र प्रमाण नष्ट गर्नेहरू उम्किन पाउनुहुन्न भनेर बताइरहेका छन् ।

स्थानीयले पनि विष्ट र बम दिदीबहिनीलाई छाडेपछि अनुसन्धान नयाँ ढंगले अघि बढाउनुपर्ने माग गरेका छन् । ‘प्रहरीले अहिलेसम्म दिलीपलाई नै अपराधी हो भनिरहेको थियो तर अब उसलाई छाडिसकेपछि वास्तविक अपराधी सार्वजनिक गर्नुपर्ने उनीहरुले बताएका छन् । यता न्याय माग्दै निर्मलाका बुवा यज्ञराज, आमा दुर्गादेवी र महिला अधिकारकर्मीसँगै काठमाडौं आएका छन् । उनिहरु भन्छन्, ‘हामी न्याय नपाई अब फर्कन्नौँ ।’ 

घटनापछि दिलीपसिंह विष्ट, बम दिदी बहिनी, मेयरका भतिज, एपीका छोराको दोषीको रुपमा स्थानीयले चासो उठाए । त्यसमध्ये विष्ट र बम दिदी बहिनीलाई अहिले छाडिएको छ । अन्य दुईले पनि अगाडिनै निर्दोशको बयान दिइसकेका छन् । यो अनुसन्धान कतिसम्म लापरवाही थियो भन्ने यी घटनाले प्रहरीप्रति प्रश्न र शंकाको स्थिति पैदा गरिदिएको छ, कायमै छ ।

नयाँ प्रहरी अनुसन्धानमा खटिएकाले पनि दोषी उम्कन नसक्ने जवाफ दिइरहँदा प्रदेश नं. ७ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी सुरज केसीले प्रारम्भिक अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकृतमाथि कारबाही हुने बताएका छन् । उनले सरुवा भएर अन्यत्र गएका अधिकृतहरूलाई पनि झिकाएर नयाँ चरणको अनुसन्धान सुरु हुन लागेको जानकारी दिएका छन् । उनले अनुसन्धानमा समय लागे पनि दोषीलाई उम्कन नदिने दाबी गरेका छन् । उनले भनेका छन शंकास्पद रूपमा नाम उल्लेख भएका व्यक्तिहरू सबैको डीएनए परीक्षण गरिनेछ र दोषी पत्ता लगाइने छ । 

दिलीपको डीएनए निर्मलाको शरीरबाट लिइएको नमुनासँग नमिलेपछि उनलाई मंगलबार छाडिएको थियो। दिलीपलाई छाडेपछि उनीहरुले शंकास्पदको डीएनए परीक्षण गरेपछि मेल भए ठोस प्रमाण सहित अपराधी सार्वजनिक हुने बताएका छन् । 

घटनाले दिनदिनै नयाँ रुप लिइरहँदा सरोकारवालाहरुमा त्रासको वातावरण सिर्जना भएको छ । सामाजिक घटना जति लम्बियो त्यति नै राजनीतिक घटना हुने र समाज पुरै बलात्कृत हुने स्थिति पैदा हुन नदिनको लागि पनि यो घटनाका दाषी कुनैपनि हालतमा उम्कन नहुने स्थानीय शैष कुमार विष्ट बताउँछन् । उनी भन्छन्, ‘यो घटनाको दोषी यदी पत्ता लगाउन सकिँदैन भने स्थानीयदेखि केन्द्र सम्मका सबैले राजिनामा दिएर निर्णय अधिकार जनतामा छाडिनुपर्छ ।’

१३ वर्षीया बालिका पन्तलाई बलत्कारपछि हत्या भएको थियो । साउन १० गते हराएकी पन्तको ११ गते घर नजिकैको उखुबारीमा मृतावस्थामा शव भेटिएको थियो । शवको पोष्टमार्टम रिपोर्टले बलत्कारपछि हत्या भएको पुष्टि भइसकेको छ, दोषी अझैसम्म पत्ता लाग्न सकेको छैन । 

घटनाको सत्यता लुकाइएको बारेमा अनेक कुराहरु आइरहेको बेला प्रहरीको अनुसन्धानमा गरेको गल्तिले कञ्चनपुर घटनालाई जस्ताको तस्तै उजागर नगरिन्जेल प्रहरीमा लागेको पछिल्ला धब्बाहरु नपखालिने निश्चित छ । 
 

तपाईँको मत