अन्तर्वार्ता

१२ आैँ महाधिवेशन समयमै हुने कुरामा दुइमत छैन : नेविसंघ उपाध्यक्ष यादव

काठमाडौँ । नेपाल विद्यार्थी संघको ११ अाैँ महाधिवेशनले दिएको दुई वर्षको समय समाप्त भइसकेको छ । नयाँ अर्थात, १२ आैँ महाधिवेशन ३ महिनभित्र गर्नको लागि माऊ पार्टी नेपाली काँग्रेसले भातृ संगठनलाई निर्देशन दिइसकेको छ । तोकिएको समयभित्र महाधिवेशन गर्नको लागि संस्थापन पक्ष लागेको छ । विभिन्न समस्याहरु यथावत रहेको हुनाले असन्तुष्टिहरू नमिलाइकन अधिवेशन गर्ने चुनाैतिहरू संगठन नेत्तृत्वमा जीवितै छ । 

बिगत लामो समयबाट विभिन्न जिल्लाका समस्यालाई घटाउँदै ११ जिल्लाका समस्या अहिलेपनि समाधान हुन नसक्दा नेविसंघको अधिवेशन जति नजिकन्छ उती चट्टारो बढ्दै गएकाे छ । र मनोनयन अर्थात टीके प्रणालीले प्रश्रय पाएका छन् । तर पछिल्लो महाधिवेशनले टीके प्रथालाई अन्त्य गर्दै नेतृत्व चयनमा निर्वाचनको विकल्प नरोज्नुले आगामी महाधिवेशन निर्वाचनमार्फत नै हुने आशा कार्यकर्ताले गरेको देखिन्छ । 

यसकारण भन्नैपर्छ नेपाल विद्यार्थी संघ महाधिवेशनमा होमिएको छ । गाउँ, जिल्ला, नगर, महानगर सबै क्षेत्रमा कार्यकर्ताहरु तातेको अवस्था छ ।  सबै आ-आफ्नो क्षेत्रबाट खटिरहेका देखिन्छन् । यही महाधिवेशन, जिल्ला अधिवेशनलाई लक्षित गर्दै वर्तमान केन्द्रीय उपाध्यक्ष पवन कुमार यादवलाई पूर्वदेखि पश्चिमसम्मको कामले भ्याइनभ्याई छ ।
०६१ सालदेखि सक्रिय विद्यार्थी राजनीतिमा होमिएका यादव महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियू सदस्य, जिल्ला सचिव हुँदै स्ववियूको सभापतिका प्रत्यासीको अनुभवलाई लिएर ११ अाैँ महाधिवेशनमा नेविसंघको उपाध्यक्ष चुमेका थिए । सरल स्वभावका यादव आगामी महाधिवेशनका स्वतस्फुर्त अध्यक्षका प्रवल उम्मेद्वार पनि हुन । तर, उनी दावी गर्दैनन् । उनी भन्छन्, 'नेतृत्व र विद्यार्थीले चाहेको खण्डमा म वहाँहरु सँगै छु ।' 

उपाध्यक्ष यादवले संगठनको १२ औँ महाधिवेशन र यसको सेरोफेरोमा रहेर विद्यार्थी हक हितमा बिताएका समय र उपलब्धी गाउँ सहर डटकमसँग साटासाट गरेका थिए । यहि  वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । 


१. माऊ पार्टीले तपाइँहरुलाई दिएको समयमा नेविसंघको महाधिवेशन होला ?
अहिलेसम्मको अवस्था हेर्दा र संगठनका पछिल्ला गतिविधिले सकारात्मक सन्देशहरु दिएका छन् । पछिल्ला आन्तिरिक बेमेलताहरुलाई केन्द्रले समेटेर गुटको अन्त्य गरेको छ जुन सकारात्मक यात्राको आधार हो । गुट-उपगुट लगभग छैन, बरु उमेर हदको कुरा चाहिँ चलेको छ । सबैको चाहना महाधिवेशन नै भएकोले जिल्ला अधिवेशनहरुमा समय लागेको खण्डमा तोकिएको समय केहि पछाडि नत्र तोकिएको अवधिभित्रै महाधिवेशन हुन्छ । विधानको सुविधानुसार समयमै महाधिवेशन सम्भव छ ।

२. सबै जिल्लामा अधिवेशन भएन भने नी, पहिलेकै जस्तो भयो भने ?
४०-४५ वटा जिल्लामा सहज अवस्था छ र बाँकी जिल्लाका पनि धेरै स्थानमा समस्या समाधान भइसकेकोले अधिवेशन हुन्छ । रहेका ११ जिल्लामा पनि छलफल गरिसकेका र्छौँ । समाधान वहाँहरु बाटै निस्किसकेको छ । यसकारण नेविसंघमा अहिले गुट छैन असन्तुष्टलाई हामीले समितिमा समावेश गरेर समाधान गरिसकेका छौँ । प्रदिप पौडेल अध्यक्ष हुँदादेखि नै रहेका विवादित जिल्लाहरुमा वहाँहरु आफैँले बसेर मिलाइसक्नुभएको छ । पहिलेको अवस्था फेरी आउनसक्ने कुरा जहाँ सम्म छ सायद अब आउँदैन । समयले कोल्टे फेरिसकेको छ । बुझिसकिएको छ, आन्तरिक द्वन्द्वलाई अब अगाडि भन्दापनि आफैँ समाधान गर्नमा कटिबद्ध भएका छौँ । द्वन्द्वले फाइदा नगर्ने र अबपनि यहि मुद्धामा लागे विकास कहिले गर्ने ? यसकारण यही पक्षलाई हृदयंगम गरी साथीहरु अधिवेशनमा होमिइसक्नुभएको छ ।

३. संगठन भित्रको उमेर हद (३२ वर्ष) को कुरा मिल्ला कि हट्ला त ?
दुबै कुरामा हामी छलफल गरिरहेका छौँ । दुबै पक्षको चासो, मेहनतलाई नजिकबाट नियाल्दै छौँ । सायद यो भाद्र १२ गतेको बैठकले केही टुँगो लगाउन सक्छ । दुबै उमेर सोचका कुराहरु आइरहेको हुनाले विषय अहिलेसम्म विचाराधिन रहेको छ । छलफल जारी छ । होल कमिटी ३२ वर्ष लगाएर जाने भन्नेमै छ, किनकी उ त्यही मुद्धा टेकेर चुनाव जितेको हो । तर, उमेर पुगेकाको पनि योगदानलाई नकार्न नमिल्ने बहसहरु आइरहेको अवस्थामा व्यापक छलफल गरेर अगाडि बढ्ने पक्षमा छौँ । सिनेट बोलाएर भएपनि उमेर हदको विषय समाधान गर्ने पक्षमा छौँ । पार्टीका सभापति, महामन्त्री लगायत नेताहरु भने ३२ वर्षलाई नै आधार मानेर जाने पक्षमा हुनुहुन्छ ।

४. अन्य दलका भातृ संगठनले त उमेर हदलाई लिएर विभिन्न कुरा गर्दारैछन नी ?
कुरा गर्नु स्वभाविक हो । तर जिम्मवेवारीताबाट कोही भाग्न मिल्दैन । सबैलाई समेटनु नै माऊ पार्टीको मन्त्र भएकोले यो उमेर हदलाई लिएर टिप्पणी गर्नु उचित नहोला । अरुले भन्लान, उनीहरुको थोरै सुधार देखिएको होला तर यही विषयलाई लिएर टिकाटीप्पणी नगर्दा वहाँहरुलाई राम्रो हुन्छ । थिति हो सुधार गर्दै जाने हो । संगठनलाई आवश्यकता परे जसरी पनि अगाडि बढ्न सक्छ । यसमा आम विद्यार्थी साथीहरुको कुराले महत्व राख्छ ।

५. शैक्षिक मुद्धामा चाहिँ कहाँ हुनुहुन्छ ? उद्धेश्यप्रति अलि बफादार नभएको हो र ?
हिजोको दिनमा तानाशाहलाई पाखा लगाएर आएको पार्टी हो, त्यसको हामी भातृ संगठन हौँ । हामी कहिल्यै पछाडि परेका छैनौ र हुनौँ पनि । वर्तमान परिपेक्षमा विभिन्न शैक्षिक मुद्धाहरुमा अग्रपंक्तिमै छौँ । हामीले नै उठाइएका शैक्षिक मुद्धाहरुमा सफल नै भएका छौँ । विद्यार्थी हकहित भन्दाहामी टाढा छैनौँ । यसको प्रभावले देशव्यापी रुपमा नेविसंघका सदस्यहरु बढेका छन, हामी आफैँ विद्यार्थीका मर्कासँग जुधिरहेका छौँ । हामी उद्धेश्यभन्दा टाढा गएका छैनौँ, यही मूल्यवृद्धि, शैक्षिक गुणस्तर, शिक्षा र स्वास्थ्यको सुधार, विकृतिविरुद्ध हामी लागिरहेका छौँ । नयाँ नेतृत्व आएपछि देशमा स्थानीय, केन्द्रीय निर्वाचन भए जसले संगठनका काम कारवाहीमा थोरै अवरोध गर्यो । तर त्यसपछिबाट हामी निरन्तर सरकार, वेथिति, शैक्षिक गुणस्तर, महँगी, अनाधिकृत करवृद्धि विरुद्ध आवाज उठाइरहेका छौँ । अहिलेसम्म आएका १०० मा ८० प्रतिशतहरु काम हामीले गरेकै छौँ । हामी सँधै देश र जनताको लागि अहोरात्र काम गरिनै रहेका छौँ । वर्तमान करको भारलाई हामीले विरोध गर्दै कर घटाउनको लागि सरकारलाई खबरदारी गरिरहेका छौँ ।

६. उमेर हद लागू भयो भने तपाइँलाई असर गर्ला कि नगर्ला ? 
दुइटै अप्सनमा म ओपन छु । म उमेरको हदमा लचिलो छु । दुबैलाई सम्मान हुन्छ भने मलाई केही आपत्ती हुँदैन । केन्द्रीय समितिले बनाएको निर्णयलाई मेरो पूर्ण समर्थन छ । मेरो कुरा गर्नुहुन्छ भने म उमेरमै छु, हद लागेपनि मलाई छुन्न ।

७. पार्टीले भनेको कुरा नमान्ने हुन्छ कि हुन्न ? नराम्रा कुरालाई पनि तपाइँहरु मान्नुहुन्छ ? 
पार्टीको वैद्यानिक संस्था भएको हुनाले पार्टीले भनेको नमान्ने भन्ने हुँदैन । तर सबैकुरा बिग्रने, व्यक्तिवादी सोच राख्ने जस्ता कुराहरुमा पार्टीपंक्तिको कुरा आयोभने हामीले मान्नैपर्छ भन्ने हुँदैन । यस्तो अवस्थामा पार्टीलाई मार्गदर्शन बनाएर जाने हो । यसकारण यदी झगडा नै भएपनि वहाँहरुले हामीलाई सुधारको बाटोमा जानुपर्छ भन्नैपर्छ । वागी हैन आफ्नैमा भन्ने अवधारणा अहिले विकास गरेका छौँ । पार्टीले हरेक कुराहरुमा वाध्यकारी अवस्था सिर्जना गरेको छैन ।

८. संगठन अहिले कमजोर अवस्थामा हो ?
गलत । अहिले हामी झनै बलियो अवस्थामा छौँ । अध्यक्ष नैन सिंह महरको नेतृत्वले धेरै काम गर्न भ्याएको छ । विश्वविद्यालयदेखि स्कुल तहसम्म कामको प्रभावकारीता बढी देखिएको छ । संगठनभित्र टीम रहिरहन्छ, टीम नहुने भन्ने हुँदैन । यसैद्वारा निर्वाचनमा सहभागी हुने हो/भइन्छ र विद्यार्थीले नेता चुन्ने गर्छन् । बाहिर जति बढी हल्ला भएको छ र देखिएको छ अहिले प्रायः समाधान भइसकेको छ । यसकारण अहिले हामी सबैभन्दा बलियो अवस्थामा छौँ ।

९. विद्यार्थी राजनीति गर्दा जिवीकोपार्जन कसरी भएको छ, दाता को छ तपाइँको ?
दाताको विषय मलाई थाहा भएन । म कुनै आयोजना होइन ताकि मलाई रकम छुट्याउनु परोस् । म विशुद्ध विद्यार्थी, समाज र राजनीतिबाट देशको सेवा गर्ने सोचको साथ राजनीतिमा होमिएको हुँ । हो, गाह्रो रैछ । मेरो परिवारका सदस्यको सहयोगबाटै म विद्यार्थी राजनीति गरिरहेको छु । राजनीतिक दौरानमा गएका स्थानहरुमा वहाँहरुकै आतिथ्यमा बस्ने र खाने गरिन्छ । कुनै बाहिरी स्रोतले मलाई लगानी गरेको छैन । गाह्रो छ, तर अहोरात्र संगठन र विद्यार्थी हकहितमा लागिरहेको छु ।

१०. अन्त्यमा के भन्नुहुन्छ ?
हामी अहिले सबैभन्दा नराम्रो त म भन्दै भन्दिन, अवसरको अवस्थामा छौँ । माऊ पार्टीले निर्वाचनमा हार व्यहोरेर सिकेको ज्ञानलाई भरपूर प्रयोग गर्दै भातृसंगठनमा पनि व्यापक सुधारको अवस्थामा पुर्याएका छौँ । यो २ वर्षको कार्यकालमा विद्यार्थी, देश, सामजिक मुद्धा, आर्थिक उन्नती, शिक्षा-स्वास्थ्यमा गुणस्तरियता जस्ता यावत आइपरेका समस्याहरुमा हामी सँगै जुधिरहेका छौँ । काम गरेका स्थानमा प्रगति गरेका छौँ । यही कामले गर्दा संगठनको देश तथा विदेशमा वाहीवाही बढेको छ । एक अर्कामा विश्वासको वातावरण संकलन गर्न सकेका छौँ । यहिकारण विद्यान अनुसार समयमै अधिवेशन हुन्छ र महाधिवेशन पनि । हामी आफ्नो तरिकाले काम गरिनै रहेका छौँ । मिल्नुको विकल्प छैन, सँधै झगडा गरेर भन्दापनि मिलेर जानसके सजिलो हुने भएकोले अधिवेशन नहुनेमा शंका नगरौँ बरु आ-आफ्नो ठाउँबाट सकारात्मक सोचका साथ सहयोग गर्न नछुटौँ अनि नछुटाउँ ।

धन्यवाद ।

तपाईँको मत