खेल

२५ औं संस्करणको आदर्श कप शनिबारदेखि

पोखरा । २५ औं संस्करणको आदर्श कप शनिबार (भोलि)देखि सुरु हुने भएको छ । मंसिर २२ देखि २९ सम्म लेखनाथ रंगशालामा हुने  प्रतियोगितामा ८ टिमले भाग लिने  क्लब अध्यक्ष पदम गुरुङले जानकारी गराएका छन् ।

आदर्श युवा क्लबले यो प्रतियोगितालाई ६ वर्षपछि २५ औं संस्करण रुपमा निरन्तरता दिएको हो । २०७५ सालमा २४ औं संस्करणको ऋद्धिसिद्धी आदर्श कप भएको थियो । यसपालि झण्डै ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की ११, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीसहितका ३ विभागीय क्लब तथा तनहुँ, गोरखा र स्याङ्जाका एक/एक टिमले भाग लिने भएका  छन् ।

विजेतालाई ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । उपविजेताले २ लाख २५ हजार ५ सय २५ रुपैयाँसहित शिल्ड, मेड र प्रमाणपत्र प्रदान गरिनेछ ।

अध्यक्ष गुरुङले आदर्श कपलाई जीवन्तता दिँदै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए । फुटबल मैदान मर्मत, अस्थायी प्याराफिट निर्माणलगायतको अन्य तयारी पूरा भएकोे उनले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत