राजनीति

सात दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन

काठमाडौं । सात दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्न ८२ वटा राजनीतिक दललाई  निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८/०७९को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षणको प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण समेत गराएको छ ।

आयोगको वैशाख २७ गते बसेको बैठकले यस्तो निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् । ‘आर्थिक वर्ष २०७८/०८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले सात दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ’ आयोग प्रवक्ता पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पार्टीलाई स्पष्टीकरण सोधेको छ । यी दलहरुले ०७७/०७८ र ०७८/०७९ को लेखा परिक्षण पेस नगरेको आयोगले जनाएको छ । यस्तै आयोगले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेस नगर्ने ९ वटा राजनीतिक दल र सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने १६ राजनीतिक दललाई पनि स्पष्टीकरण सोधेको छ । ती दलहरुलाई ७  दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत