खेल

‘खेलाडी देशका सम्पत्ति हुन्’– मुख्यमन्त्री अधिकारी, ‘खेलाडीको हितका लागि हामी गम्भीर छौं’– मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी गहना नभई देशको सम्पत्ति भएको बताएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकी द्वारा हालै टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विजयी खेलाडीहरुको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रदेश खेलकुदका संरक्षक समेत रहेका मुख्यमन्त्री अधिकारीले भने–“हामी यहाँहरुको प्रदर्शनका लागि खुसी व्यक्त गर्दछौं । वि आर सो प्राउड अफ यू । तपाईंहरुले सम्मान बढाउनु भएको छ । तपाईंहरुलाई बधाई छ ।”

संघीय संसदमा हुँदा खेलाडीहरुलाई पारश्रमिक दिनुपर्छ भनेर प्रस्ताव गर्ने आफू रहेको बताउँदै मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेश सरकार सदैव खेलाडीहरुको साथमा रहेको बताए । खेलाडीहरुको वृती विकासका लागि प्रदेश सरकारले गम्भिर भएर अघि बढ्ने समेत उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले खेलाडीहरुके हितका लागि मन्त्रालय संधै अघि रहेर कार्य गर्ने बताए । उनले भने–“हामी यहाँहरुको वृति विकासका लागि गम्भीर छौं । यहाँहरुको अन्तर निहित क्षमतालाई त्यसै ह्रास हुन दिने छैनौं । यहाँहरुको क्षमतालाई खेलाडी उत्पादनमा लगाउने हामी प्रतिवद्ध छौं ।” उनले खेलाडीलाई स्वरोजगार बनाउन मन्त्रालयले कार्य गर्ने बताउँदै टाइगर कपमा विजयी हुनुले पनि भलिबल खेलको विकासका लागि महत्वपूर्ण रहेको बताउँदै विजयी टिमलाई बधाई दिए ।

सो प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले टाइगर कप भलिबल प्रतियोगितामा प्राप्त सफलताले सिङ्गो प्रदेश खेलकुद गौरवान्वित भएको बताउँदै खेलाडीहरुको अन्तरनिहित क्षमतालाई यथावत राख्न प्रदेश खेलकुद सदैव सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेल, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङलगायतले खेलाडीलाई सम्मान मात्रै नभई खेलाडीलाई परिचालन गर्न आवश्यक वृती विकासका लागि प्रदेश सरकार गम्भिर भएर सोच्नु पर्ने बताउँदै विभागिय टिमहरुको चुनौतीका विच गण्डकी प्रदेशले नतिजा निकाल्नु महत्वपूर्ण रहेको बताए । गत माघ ८ देखि १४ गते सम्म सञ्चालन भएको तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकीले प्रथम स्थान प्राप्त गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत