अर्थतन्त्र

यस्ताे छ चालू आर्थिक वर्षको ६ महिनामा देशको आर्थिक तथा वित्तीय स्थिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको छ । सोमबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो ।  

विदशी मुद्राको सञ्चिति बढ्दा शोधनान्तर ९७ अर्बले बचतमा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको स्थिति अनुसार ६ महिनामा विदेशी सञ्चिति १० अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । 

गतवर्ष पुस मसान्तसम्म शोधनान्तर दुई खर्ब ४१ अर्बले घाटामा थियो । शोधनान्तर बचतमा गए पनि चालु खाता भने २९ अर्ब ४७ करोडले घाटामा नै रहेको छ । गतवर्षको तुलनामा भने चालु खाता घाटामा सुधार आएको हो । 

गतवर्ष चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । 

रेमिट्यान्स बढेको तथा आयात घटेको कारण शोधनान्तरमा सुधार आएको हो । चालु आर्थिक वर्षको ६ महिनामा आयात २०.७ प्रतिशतले, निर्यात ३२.० प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ । सरकारले पुस मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको थियो । आयातमा प्रतिबन्ध तथा कतिपय वस्तुको आयातमा नगद मार्जिनको व्यवस्थाले विदेशी सञ्चितिमा सुधार भएको हो । सरकारले माघदेखि आयात प्रतिबन्ध हटाएको छ भने नगद मार्जिनको व्यवस्थासमेत हटेको छ । 

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.३ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ ।

विदेशी सञ्चिति पर्याप्तता सूचकको आधारमा आर्थिक वर्ष २०७९/८० को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७९/८० को ६ महिनामा कुल वस्तु निर्यात ३२.० प्रतिशतले कमी आई ८० अर्ब ८१ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ७ खर्ब ९२ अर्ब ६७ करोड कायम भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत