गाउँ सहर

किन परे नेपाल वायुसेवा निगमका पाँच पाइलट एकैपटक कारबाहीमा ?

काठमाडौं । नेपाल वायुसेवा निगमले एकैपटक पाँच जना क्याप्टेनलाई कारबाही गरेकाे छ । निगमले एकैपटक यति धेरै पाइलटहरूलाई कारबाही गरेकाे याे पहिलाे पटक हाे ।

 नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताए । 

प्रवक्ता निरौलाका अनुसार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा तथा काठमाडौंबाट जापान उड्ने क्रममा 'स्टान्डर्ड अप्रेशनल प्रोस्युड्युर' पालना नगरेकाले प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

जहाज विमानस्थलमा अवतरण गर्दा एटीसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका पाइलटले त्यसलाई फलो नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको निर्देशनसँगै निगमले पाँचै जना पाइलटलाई निलम्बन गर्नुपर्ने र त्यसपछि, प्राधिकरणले ती पाइलटलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्रवक्ता निरौलाले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत