फोटो

संसदमा मिलेका हात, नमिलेकाे मन (तीन तस्बीर)

काठमाडाैं । मंगलबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २७५ सदस्यीय प्रतिनिधि सभाका २६८ सांसदले मत दिए । उनको विपक्षमा केवल २ मत मात्र परेको हो ।

प्रमुख प्रतिपक्षी दलका रूपमा आफूलाई संसदमा प्रस्तुत गरिरहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएपछि संसदमा नयाँ रेकर्ड बनेको हो । 

यद्यपि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पनि कांग्रेसले आफूलाई प्रतिपक्षी दलको रूपमा प्रस्तुत गरेको छ । 

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाएका ७ सहित १२ दल र तीन स्वतन्त्र सांसद छन् । उनीहरुमध्ये नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्रै प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत दिएका छन् ।

प्रचण्डलाई कांग्रेसका ८५, एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १३, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ४/४ र तीन जना स्वतन्त्र सांसदले मत दिएका हुन् ।

बैठकमा सम्बाेधनका क्रममा प्रमुख दलका शीर्ष नेताहरुबीच सवालजवाफ नै चल्याे । विशेष गरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच त दोहोरी नै चल्यो ।

सोमबार बसेको पहिलो बैठक सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन । … संसदबाट सत्ता ढल्नु र बन्नु प्रतिगमन होइन ।’

‘प्रतिनिधिसभाको हिजो बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष, वर्तमान सत्ता संयन्त्रका नेताको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ रोष्ट्रममा उभिएर देउवाले भने, ‘उहाँले संसदको पूर्णकालीन व्यवस्थाको विपरीत फेरि पनि संसद विघटन गरिन सक्ने कुरा जोडदार रुपमा उठाउनुभएको छ ।’

गतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । ‘गुरुजी, २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?

प्रचण्डले भने यो विषय सक्दो पन्छाउने प्रयत्न गरेका छन् । ‘हिजो संसद विघटन गर्नु सही थियो वा थिएन, यो अहिले सत्ता साझेदारभित्रको विषय होइन । यो हामी सबैलाई थाहा भएकै कुरा हो’, जवाफमा उनले भनेका छन् ।

सम्बाेधन सकेर देउवा, प्रचण्ड र ओलीका हात मिलेपनि मन भनेेक अमिलै रहेकाे शारिरीक हाउभाउ र सम्बाेधनबाट प्रष्टै देख्न सकिन्थ्याे ।तस्बिर-रासस

गाउँ सहर डेस्क

तपाईँको मत