राजनीति

गण्डकी प्रदेशको मुख्य मन्त्री अधिकारी, डायलासिस सेवा विस्तार गर्ने पहिलो निर्णय 

पाेखरा । गण्डकी प्रदेशको मुख्य मन्त्री  खगराज अधिकारी  बनेका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाैष २५ गते ४ बजेभित्र २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरेका थिए ।

सत्तारुढ दलले आइतबार साँझमात्र प्रदेशको बागबण्डा मिलाएपछि प्राप्त समय सीमाको अन्तिम दिन ३३ सांसदको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा एमालेका खगराज अधिकारीले दाबी पेश गरेका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका छन्।

एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र दीपक मनाङेले खगराजलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरेका मनाङेले अन्तिममा खगराजलाई भेटेर फर्किएपछि एमालेलाई समर्थन गर्ने बताएका थिए । अब गण्डकीमा कांग्रेसका २७ सांसद प्रतिपक्षमा हुने छन् ।

काे हुन् अधिकारी 

माओवादीका  दीपक कोइरालालाई झण्डै ४ हजार मतले हराउँदै विजयी भएका खगराज २०७० सालमा शुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री  तथा नेकपा विवादका बेला  १३ दिने गृहमन्त्री समेत भएका थिए । २०१८ सालमा हालको पोखरा–३१ बेगनासमा जन्मिएका खगराज स्कुले जीवनमै आनन्दज्योति माध्यमिक विद्यालयमा  कमिटी अध्यक्ष बनेका  थिए ।

२०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्य भएर संगठानिक रुपमा काम थालेका खगराज २ पटकसम्म पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका थिए ।

२०४८ सालयता ६ पटक चुनावमा भाग लिएका खगराजले २०५१ सालको मध्यावधि र २०७४ सालमा जितेका थिए ।कांग्रेस नेतृत्वको गठबन्धन कायमै रहँदा मुख्यमन्त्री बन्ने सम्भावना कम भएका उनी केन्द्रमा सत्ता समीकरण फेरिँदा  गण्डकीको मुख्यमन्त्री बन्न सफल भएका छन् ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकलेडायलासिस सेवा विस्तारको निर्णय गरेको छ ।सोमबार गठन भएको सरकारका मुख्यमन्त्री खगराज अधिकारीसहित मन्त्रीहरु हरिबहादुर चुमान, सीता सुन्दास र पञ्चराम गुरुङ सम्मिलित बैठकले प्रदेशका ११ जिल्लामा नै मृगौलापीडितका लागि डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

विष्णुहरि पाैडेल

तपाईँको मत