कृषि

हिउँदे बालीका लागि रासायनिक मल नेपाल भित्रने क्रममा

काठमाडौँ । हिउँदे बालीका लागि  रासायनिक मल मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।     
    
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार सात सय ६४ मेट्रिक टन युरिया, १९ हजार दुई सय ८६ मेट्रिक टन डीएपी र एक हजार नौ सय ३२ मेट्रिक टन पोटास गरी कुल ४२ हजार नौ सय ८३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिए ।    
    
मौज्दात रहेको यो परिमाणको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ३५ हजार चार सय ४९ मेट्रिक टन मौज्दात छ । जसमा १५ हजार एक सय ७९ मेट्रिक टन युरिया, १८ हजार चार सय ३२ मेट्रिक टन डिएपी र एक हजार आठ सय ३७ मेट्रिक टन पोटास छ ।    
    
त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेसनसँग ६ हजार पाँच सय ६४ मेट्रिक टन युरिया, आठ सय ५४ मेट्रिक टन डिएपी र ९५ मेट्रिक टन पोटास गरी कुल सात हजार पाँच सय ३४ मेट्रिक टन रासायनिक मल मौज्दाते छ ।    
    
चालु आर्थिक वर्ष २०७९/८० का लागि मल खरिद गर्न सरकारले रु १६ अर्ब विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत् दुई लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर आह्वान भएको थियो । जसमा एक लाख १० हजार मेट्रिक टन मल आयात भई ८६ हजार पाँच सय मेट्रिक टन बिक्रीसमेत भइसकेको मन्त्रालयले जनाएको छ ।    
    
अहिलेसम्म कृषि सामग्री कम्पनी लिमिटेड ५७ हजार दुई सय १२ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले २९ हजार ३३ मेट्रिक टन रासायनिक मल बिक्री गरिसकेका छन् ।    
    
साथै, २० हजार मेट्रिक टन युरिया पुसको पहिलो हप्ता नेपाल आइपुग्ने पनि कृषि मन्त्रालयले जनाएको छ । टेन्डर भएको बाँकी मल माघ तथा फागुन महिनामा नेपाल आइपुग्ने जानकारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनले मन्त्रालयलाई दिएका छन् ।    
    
कृषि सामग्री कम्पनी लिमिटेडको २० हजार मेट्रिक टन रासायनिक मलमध्ये पाँच हजार मेट्रिक टन भैरहवा र वीरगञ्ज नाकामा आइसकेको तथा १० हजार मेट्रिक टन मल विशाखापटनमबाट नेपालका लागि निकासी भैसकेको पनि मन्त्रालयको भनाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत