अर्थतन्त्र

सुनको माग बढ्याे, शुक्रबार कतिले बढ्याे सुनको मूल्य ?

काठमाडौं । सुनचाँदी बजारमा आज शुक्रबार छापावाल सुनको मूल्य बढेको छ ।  नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा बिहेको महिनामा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधबारकै तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो ।

मंगलबारयताको  हेर्ने हो भने सुन तीन दिनमै एक हजार सात सय रुपैयाँले बढेको छ । एक सातामा सुनको मूल्य एक हजार ३ सय रुपैयाँले महँगिंएको महासंघको तथ्यांकले देखाएको छ । मंसिर लागेदेखि यताको ट्रेन्डलाई पछ्याउने हो भने सुनको मूल्य तोलामा ११ सय रुपैयाँले महँगिसकेको छ ।

सरकारले सुन आयातमा भने कडाइ गरिरहेको छ । बिहेको महिनामा  दैनिक २०-२५ किलो सम्मको आयात अनुमति दिने गरेको राष्ट्र बैंकले यसपाली १० किलोभन्दा बढी सुन आयात गर्न दिएको छैन । मंसिर महिनामा बिहेको महिनामा बजारमा दैनिक ५० किलोसम्म सुनको माग रहेको व्यवसायीको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्दै जाँदा र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धिदरलाई घटाउने संकेत दिएपछि सुनको भाउ बढेको जनाएको छ ।मंसिर महिनामा धेरै  विवाह हुने हुनाले  सुनको माग पनि अझ बढेको क्रम शुरु भएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत