गाउँ सहर

मतदाता शिक्षा कार्यक्रम सञ्चालनआजदेखि, वडावडामा स्वयंसेविका परिचालन

काठमाडाैं । निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आयोगले आजदेखि मतदाता शिक्षा घरदैलो कार्यक्रम सुरु गरेको हो ।

वडा तहसम्म हुने यो कार्यक्रमका लागि स्वास्थ्य स्वयंसेविकालाई खटाइएको छ । देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

स्वयंसेविकालाई मतदाता शिक्षा सामग्रीसहित जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पालिकामार्फत हरेक वडामा खटाउने छन् । मतदाता शिक्षाका लागि जिल्ला–जिल्लामा सामग्री पुगिसकेका छन् । एक जना स्वयंसेविकाले १५ जनाको समूहमा दुईवटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् ।

आयोगले मतदाता शिक्षाका लागि ५० करोड रुपैयाँ छुट्याएकाे छ । चुनाव आउन अब १६ दिन बाँकी छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत