गाउँ सहर

‘लालसलाम’ र ‘जयनेपाल’ भन्न बानी पार्दै गठबन्धनका उम्मेदवार तथा कार्यकर्ताहरू

काठमाडौं । आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरु काठमाडौं क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणामा भेला भएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा नेकपा माओवादी नेतृ तथा काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीलगायतका नेताहरू सहभागी थिए । 

प्रमुख अतिथिकाे रूपमा सम्बोधन गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुरूमा कुनै अभिवादन गरेनन् भने अन्तिममा जय नेपाल भन्दै बिदा भए तर प्रचण्ड र नेपालले ‘लालसलाम’ सँगसँगै ‘जयनेपाल’ काे पनि अभिवादन गरे । 

विशेष अतिथि रहेका प्रचण्डले जयनेपालमा मात्रै अडिएनन् आफूले रुखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हानेकाे बताए । संविधानको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धन दलबीच चुनावी तालमेल भएको भन्दै चुनाव चिन्हमा नअल्मलिन आग्रह गर्दै भने- ‘हँसिया हथौडाले रुखमा कसरी भोट हाल्ने ? रुखले हँसिया हथौडामा कसरी भोट हाल्ने ? भनेर आग्रह–पूर्वाग्रह हुने गरेको कुरा सुनेको छु । तर यो अर्थहीन छ,’ दाहालले अघि भने, ‘म तपाईंहरूलाई स्मरण गराउन चाहान्छु कि हामीले धेरै पहिले नै रुख र हँसिया हथौडालाई एक बनाइसकेका हौँ । जतिबेला हामीले शान्ति सम्झौता गर्‍यौँ, त्योबेला सात दलको तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेको थिएँ । त्यो भनेकै मैले रुखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हाने बराबर हो ।’

अभिवादन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि क्रान्तिकारी लालसलाम र जयनेपाल गर्दै देश नेपालकाे जय हाेस् भन्दै जयनेपाल र लालसलाम संकल्प र प्रतिवद्धताकाे कम्बिनेसन भएकाे भन्न भ्याए । 

कार्यक्रममा सुरूमा सम्बाेधन गर्ने क्रममा नेकपा माओवादी नेतृ तथा काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीले जयनेपाल भन्दै अभिवादन गर्दा हलभरि सिठी र ताली बजेकाे थियाे ।

गठबन्धनका कारण अहिले माओवादीका नेताहरू चुनावी सभा र प्रशिक्षणहरुमा जय नेपालको अभिवादन गर्न थालेका छन् भने कांग्रेसका नेताहरु लाल सलामको अभिवादन ।

चुनावी तालमेल र गठबन्धनले दुई दलबीचको दूरी घटाएको छ । कांग्रेस र माओवादीबीच यस्ताे दूरी थियाे कि कुनैबेला लालसलाम र जयनेपाल बाेल्नै अनकनाउनेहरू अहिले घुलमिलका साथ सहजै अभिवादन साटासाट गर्न थालेका छन् ।

शनिबार गोरखा सदरमुकाममा आयोजित सत्तारूढ गठबन्धनको संयुक्त चुनावी अभिमुखीकरणमा गोरखामा नारायणकाजीको जय नेपाल, सुरेन्द्र पाण्डेको लाल सलामले अभिवादन गरेकाे दृष्य हाेस् वा शनिवारै काठमाडाैंमा नेपाली कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समिति र नेकपा (माओवादी केन्द्र) रामेछाप-काठमाडाैं सम्पर्क समन्वय समितिले संयुक्त रूपमा आयोजना गरेकाे चुनावी सभामा बाेल्दै प्रतिनिसभाका नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ले सम्बाेधनका क्रममा जयनेपालसँगसँगै क्रान्तिकारी लालसलाम र प्रदेश 'क' र 'ख' मा माओवादीकाे तर्फबाट उम्मेदवार रहेका तारानारायण श्रेष्ठ र युवराज चाैलागाईले गरेकाे जयनेपालकाे अभिवादन किन नहाेस् । चुनावी अभियानमा जयनेपाल र लालसलामकाे अन्तरघुलन भइरहेकाे दृष्य खुलस्त देखिन थालेकाे छ । 

‘लालसलाम’ र ‘जयनेपाल’ शब्द कसरी प्रयोगमा आए ?

क्रान्तिकारीहरूले हँसिया, हथौडाको आकारमा मुठ्ठी उठाएर अभिवादन गर्दा प्रयोग गर्ने शब्दलाई लालसलाम भनिन्छ । यो शब्द ‘रेड सल्युट’बाट अनूदित भएको हो । ‘लाल’को अर्थ रातो र ‘सलाम’को अर्थ अभिवादन, प्रणाम, नमस्कार भन्ने हो । रातो रङ्ग क्रान्तिको प्रतीक भएकाले क्रान्ति चाहनेहरूले क्रान्तिकारी भाव र आदरका साथ अभिवादन गर्दा रातो अभिवादन वा लालसलाम गर्ने गरेका हुन् । लालसलाम विशेष गरी कम्युनिस्ट क्रान्तिकारीहरूले प्रयोग गर्ने गर्छन् ।

कम्युनिस्टहरुले भन्ने लालसलाम शब्द हो । नेपालीमा अनुवाद गर्दा लाल भनेको रातो वा क्रान्ति बुझाउने उर्दु शब्द र सलाम भनेको अभिवादन वा नमस्कार बुझाउने हिन्दी शब्द हो । लालसलाम शब्द नेपालका कम्युनिस्टहरुले मात्रै प्रयोग नगरेर भारत, पाकिस्तान, बंगलादेश, अफ्गानिस्तान लगायत विश्वभरिका कम्युनिस्ट पार्टीले प्रयोग गर्दछन् ।

‘जय नेपाल’ शब्दको पनि त्यस्तै ऐतिहासिक सन्दर्भ छ । वि.स. १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई गलामा फाँसी लगाउने बेलामा तेरो अन्तिम इच्छा के छ ? भन्दा जय नेपाल भनेर मरेका हुन् । नेपाल प्रहरीमा प्रयोग गरिने जय नेपाल पनि २००७ सालमा नेपाली कांग्रेसद्वारा गठित मुक्ति सेनाको नारा जय नेपाल नै थियो । राणा शासन समाप्त भएपछि मुक्ति सेनालाई नेपाल प्रहरीसँग विलय बनाई प्रहरीभित्र पनि जय नेपाल चलेको मानिन्छ ।

‘जय नेपाल’ शब्दले नेपालको जय होस् भन्ने अर्थ दिन्छ । औपचारिक दृष्टिले नेपालमा ‘नेपाली कांग्रेस’का नेता–कार्यकर्ताले जय नेपाल भने पनि यो राष्ट्रिय शब्दावली हो । यो शब्दावली प्रयोगका हिसाबले कांग्रेसहरुले बढी प्रयोग गरे पनि भावार्थ चाहिँ राष्ट्रिय महत्वको छ । तर, यसले अन्तर्राष्ट्रिय व्यापकता प्राप्त गरेको छैन ।

लाल सलाम शब्दले कम्युनिस्ट क्रान्तिकारीहरुको अलग्गै पहिचान दिने भए पनि जय नेपाल शब्दले नेपालका सबै दल र नेता–कार्यकर्ताले प्रयोग गर्नसक्ने शब्द हो । ‘जय नेपाल’ शब्द पुँजीवादको पहिचान झल्किने शब्द होइन । तर, नेपालमा यसको प्रयोग प्रचलन पुँजीवादीहरुबाट भएका कारण अझै पनि सबै विचारको प्रतिनिधित्व गर्ने शक्तिहरुले औपचारिक रुपमा ‘जय नेपाल’को अपनत्व लिएको देखिँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत