गाउँ सहर

दशैँ मनाउन घर फर्कनेहरुको भिड

काठमाडाैं । दशैँ मनाउन घर फर्कनेहरुको भिड आजदेखि झन् बढेको छ । सरकारी कार्यालय र स्कुल क्याम्पस आजदेखि बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । केही स्कुल घटस्थापनादेखि बिदा भए पनि धेरै स्कुल, क्याम्पस र कार्यालय भने हिजो शुक्रवारसम्म सञ्चालन भएका थिए ।

आज शनिवार र भोलि फूलपाती भएकाले अत्यावश्यकबाहेकका कार्यालय र सेवा आजदेखि बन्द भएका छन् । आज र भोलि गाडीमा झन् धेरै भिड हुने भएकाले सुरक्षित यात्राको लागि ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ । यस्तै गाडीकाे चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेटमार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने गाडीलाई कारबाही गर्न सादा पोसाकमा पनि प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोकिएकोभन्दा बढी भाडा नलिन र ट्राफिक नियमको पालना गर्न प्रहरीले यातायात व्यवसायीसँग आग्रह गरेको छ ।

काठमाडाैं उपत्यकामा रहेका यात्रु सहायता कक्षसँगै ठाउँठाउँमा भाडासूची पनि राखिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालका अनुसार नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिएको छ । अघिल्लो दुई वर्षमा कोरोनालगायत कारणले दशैँका बेला घरगाउँ फर्कनेको सङ्ख्या कम थियो । यसपालि भने वैदेशिक रोजगारीमा रहेकाहरुसमेत दशैँ मनाउन गाउँघर फर्किँदैछन् । 

दशैँमा मानिसहरु बाहिरिने भएकाले काठमाडाैं उपत्यकामा भिडभाड कम हुने भएकाले मानिसको चाप कम भए पनि चोरी लगायतका घटना हुन सक्ने भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ । 

मोबाइल गस्ती, पैदल गस्ती, पिकेट, क्यूआरटी, सादा पोसाकका प्रहरीको परिचालन, सीआरभी, सीसीटीभी निगरानी, कट एन्ड सर्च, एम्बुस, रिजर्भ, नियमित चेक प्वाइन्ट ड्यूटी, मापसे चेकिङमा प्रहरी खटाइने छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत