स्वास्थ्य

डेंगुबाट आजपनि २ जनाको मृत्यु, संक्रमितकाे संख्या दिनहुँ बढ्दै

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज १३ गतेसम्म संक्रमितको संख्या २८ हजार १०९ पुगेकाे छ । 

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, प्रदेश १ मा ८२९, मधेस प्रदेशमा ४१३, गण्डकीमा ६७७, लुम्बीनीमा ३ हजार १२५, कर्णालीमा २३८ र सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगी पुष्टि भएको छ । 

नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरु बताउँछन् । त्यसका लागि सरकारका सबै तह र जनस्तरबाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरुको जोड छ ।  

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।

लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।

साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुने चिकित्सकहरुको सुझाव छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत