खेल

फाइनलमा पुग्न नेपालले भारतलाई हराउनुपर्ने, रच्ला त इतिहास ?

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबारनेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ ।

नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो ।

भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ । नेपालविरुद्ध भारत आफ्नो विरासत कायम राख्न चाहन्छ ।

समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो । समूह 'बी' को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपाल समूह चरणमा विजेता बनेको थियो ।

भारतले समूह 'ए' को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोरेको थियो ।

यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् । बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत