गाउँ सहर

रूपामा ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला

  • ३० भदौ बिहीबार, २०७९ | २१:०५:०० मा प्रकाशित

पोखरा । कास्कीको रूपा गाउँपालिकाद्वारा ५८ औँ बालदिवसका अवसरमा ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला  सम्पन्न भएको छ । प्रतियोगितामा शिवालय माविकी करिना ओझाले प्रथम स्थान हासिल गरेकी छन् । उनी शिवालय बाल क्लबकी अध्यक्ष पनि हुन् ।

बाल दिवसका अवसरमा आयोजित सो प्रतियोगितामा रामकोट माविकी सजिता अधिकारी, अरुणोदय आविका विश्वास विक र विश्वशान्ति माविकी सफलता हायु राई क्रमशः दोस्रो, तेस्रो र सान्त्वना भएका थिए ।

बाल दिवसकै अवसरमा रूपा गाउँपालिकाभित्रका विद्यालयहरूबाट २०७८ को एसईई परीक्षामा सम्मिलित परीक्षार्र्थीहरूमध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । शिवालय माविका धिरज सुनार छात्रतर्फ र सोही विद्यालयकी कृति ओझाले छात्रातर्फ सर्वोत्कृष्ट अङ्क ल्याए बापत पुरस्कृत भएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिक्षाका क्षेत्रमा पढाइका अलावा विद्यार्थीकाे प्रतिभा प्रस्फुटनमा पनि गाउँपालिकाले प्रयास गर्दै आएको बताए ।

तपाईँको मत