गाउँ सहर

म्यादी प्रहरीमा मैपनि छानिन्छु की ?

काठमाडाैं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले आजबाट ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट एक साथ म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको छ । 

भर्ना खुलाएसँगै आवेदकहरूको घुइँचो लागेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै आवेदकहरूको घुइँचो लागेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेकोमा आजदेखि आवेदन खुला गरेको हो ।

म्यादीमा भर्ना हुन आवेदन दिन आजदेखि हरेक जिल्ला प्रहरी कार्यालयमा ठूलो संख्यामा युवाहरूको भिड लागेको छ । आवेदन दिनेमा डिग्री होल्डरदेखि आमाहरूसम्म छन् । 

जिल्ला प्रहरी कार्यालय मार्फत भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन पाउने गरी प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरेको हो । त्यसको ४ दिन पछि बिहीबारबाट मापदण्ड पूरा गरेका नेपाली नागरिकका दरखास्त आवेदन संकलन कार्य सुरु भएको हो । म्यादीको कार्यअवधि ४० दिन हुने उल्लेख छ ।

म्यादी प्रहरीमा छानिए प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ। 

यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् । 

तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ । हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ । 

निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ । 

आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ, आतंककारी संगठनको सदस्य नरहेको, आँखाको हेर्ने क्षमता माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको, पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाइ भएका, गर्भवती नभएका/नरहेकाले आवेदन दिन सक्ने न्यूनतम योग्यता तोकिएको छ । 

यस्तै गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन र २०७४ का स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्यादीमा भर्ना भई सन्तोषजनक काम गरेका, सेना, प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का उपदान र निवृत्तिभरणमा निस्केका पूर्व सुरक्षाकर्मीहरू, पूर्ववन रक्षकहरू, विदेशी सुरक्षा निकायमा काम गरेको अनुभव भएका तथा २०७९ भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिलाई म्यादी छनौटमा प्राथमिकतामा राखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत