गाउँ सहर

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, के गर्ला प्रहरीले अब ?

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पुर्जी जारी गरेको हो । १६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालायका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले लामिछानेलाई पक्राउ गरी अनुसन्धानका लागि अनुमति प्राप्त भएको जानकारी दिए ।

पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरी स्रोतको भनाइ छ ।

जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपले होटल काठमाडौं इनमा लगेर आफुमाथि दुई पटक बलात्कार गरेको ती किशोरीको आरोप छ ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेज प्रहरीले संकलन गरिसकेको छ । जसमा सन्दीप किशोरीसँग देखिएका छन् । फुटेजमा उनीहरू राति ११ः४५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः५५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।

सन्दीप यति बेला क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको घर नुवाकोट हो । उनी काठमाडौंको बागबजारको एक कलेजमा अध्ययनरत् छन् ।

लामिछानेले भने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लसँगको टेलिफोन कुराकानीमा आफू निर्दोष भएको र सीपीएल सकिनेबित्तिकै वेस्ट इन्डिजबाट फर्किने बताएका छन् ।

लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए । उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गएका हुन् । बिहीबार बिहान उनीसम्मिलित टिम जमैका तलावाजको खेल भए पनि उनलाई भने खेलाइएको थिएन । क्यानसँगको कुराकानीमा भने उनले टिमले घटनाबारे थाहा पाए पनि खेल्न कुनै समस्या नहुने बताएका छन् ।

प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत