विद्युत

पश्चिम सेती र सेती-६ जलविद्युत परियोजनाकाे सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनीसँग सम्झौता

काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

लगानी बोर्ड नेपालले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गराएको हो । २३ साउन बोर्डले समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो ।

सम्झौता पत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट र एनएचपिसीका अध्यक्ष अभयकुमार सिंहले हस्ताक्षर गरेका हुन्।

पत्रअनुसार प्रस्तावकले पश्चिम सेती जलविद्युत परियोजना सर्वेक्षण अनुमति पत्रका लागि हस्ताक्षर भएको मितिले ४५ दिनभित्र आवेदन गर्नुपर्नेछ। सेती-६ परियोजनाका लागि छ महिनाभित्र आवेदन गर्नुपर्नेछ।

सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन गरी लगानी बोर्डमा प्रतिवेदन पेस गर्नुपर्नेछ। जसमा परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष समेटिएको हुनुपर्छ।

त्यस्तै परियोजनाको अनुमानित लागत, बजार सुनिश्चितता, वित्तीय स्रोत सुनिश्चितता लगायत विषय प्रतिवेदनमा समेटिएको हुनुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

चिनियाँ कम्पनी थ्री गर्जेजले १३ भदौ २०७५ मा भएको अन्तिम वार्तामा क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको थियो । बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो।

तर, बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाइ र प्रभावितको पुनर्स्थापना लगायतको कारण देखाएर थ्री गर्जेज पश्चिम सेतीबाट बाहिरिएको थियो । पुनर्बास लगायतका धेरै विषयका कारण परियोजना वित्तीय रुपमा सम्भाव्य नरहेको उसले बताएको थियो।

२५ वर्षअघि अष्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर, १७ वर्षसम्म १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो । त्यसपछि सन् २०१२ मा यो आयोजना थ्री गर्जेजलाई हात परेको थियो।

तर, थ्री गर्जेजले पनि काम अगाडि नबढाएपछि लगानी बोर्डले पश्चिम सेतीलाई कसरी सम्भाव्य बनाउने भन्नेबारे अध्ययन गरेको थियो । जसले एसआर-६ परियोजना पनि दिने हो पश्चिम सेती बन्ने निष्कर्ष निकालेको थियो । त्यसैका आधारमा अहिले बोर्डले दुबै परियोजनालाई एउटै प्याकेजमा राखेर विकासकर्ता खोजिरहेको थियो।

पश्चिम सेतीभन्दा केही कम क्षमता अर्थात् ४५० मेगावाटका जलाशययुक्त आयोजना हो । पश्चिमसेतीमा बुढीगंगा मिसिने स्थानभन्दा केही तल एसआर-६ आयोजना बनाउन प्रस्ताव गरिएको छ । यो परियोजना डोटी र अछाम जिल्लामा पर्छ । दिपायल-गौगुडा ग्रामीणमार्ग परियोजना पहुँचमार्गको नजिक पर्छ।

गाउँ सहर संवाददाता

तपाईँको मत