गाउँ सहर

राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न पठाएकाे नागरिकता विधेयक प्रतिनिधि सभाबाट हुबहु पारित

काठमाडौं । नागरिकता विधेयक पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको विधेयकमा छलफल गर्दै प्रतिनिधि सभामा बहुमतले पारित भएको हो ।

प्रतिपक्षी दल नेकपा (एमाले)ले ध्वनीमतबाट नभई मतविभाजनबाट टुंग्याउन माग गरेको थियो । सोही अनुसार मतविभाजनबाट पारित भएको हो । 

जम्मा १९५ सांसद उपस्थित भएकाेमा नागरिकता विधेयक पारित गर्ने पक्षमा १३५ सांसदले मत दिएका थिए भने विपक्षमा ६० सांसदले मत दिएका थिए ।

विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेर प्रमाणिकरणका लागि पठाइएको थियो । विधेयक राष्ट्रिय सभाबाट साउन १२ गते पारित भएको थियो । 

राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै साउन २९ गते संसद्मा फिर्ता पठाएकी थिइन् । 

विशेषगरी एमालेले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधान राख्न माग गर्दै आएको छ । आजको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाको हकमा तुरुन्तै नागरिकता नदिन प्रावधान राख्न माग गरेका थिए । 

प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराईले ७ वर्षे प्रावधान राख्दा के बिग्रन्छ ? भन्दै प्रश्न गरेका थिए । 

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले व्यवस्था नै नभएको विषयमा धेरै चर्चा भएको बताए । संविधानको व्यस्था अनुसार नै विधेयक ल्याइएको उनको भनाइ थियो ।

अब उक्त विधेयक संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा पठाइने छ । राष्ट्रिय सभावाट पारित भएपछि पुन: राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइने छ। यस पटक राष्ट्रपतिले फिर्ता पठाउने पाउने छैनन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत