गाउँ सहर

इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा ढकालले गरे काठमाडौँमा झण्डोत्तलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ ।

कार्यालयको प्राङ्गणमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तलन गरेका हुन् ।

कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तब्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामि दिनमा यसलाई जनस्तरसम्म पु¥याउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रसस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामि दिनमा अझ प्रगाढ र मजबुद बनाउनुपर्ने कुरामा जोड दिए ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रहरुमध्यको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।

नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटनलगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् । झण्डोत्तलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत