राजनीति

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट पठाइएको पत्र प्रतिनिधिसभामा पढेर सुनाइयाे

 

काठमाडौं । नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाएका हुन् ।

संघीय संसद्बाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएकाेमा राष्ट्रपतिले आइतबार नागरिकता विधेयक संसद्लाई फिर्ता पठाएकी थिइन् ।

‘प्रतिनिधि सभाको वि.सं. २०७९ साल साउन ६ गतेका दिन बसेको बैठकबाट समेत पारित भई सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति ज्यूसमक्ष पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा यो पत्र लेखिँदै छ,' राष्ट्रपतिले पठाएको सन्देशमा भनिएको छ, 'प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसद्बाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनः विचार हुन वाञ्छनीय भएकोले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित यो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउने निर्णय भएकोले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक यसैसाथ पठाइएको व्यहोरा सादर अनुरोध छ ।’

प्रतिनिधिसभाको अबको कुनै बैठकमा उक्त सन्देश सरकारको तर्फबाट मन्त्रीले प्रस्तुत गर्नेछन् । त्यसपछि पुनर्विचारको प्रक्रिया अगाडि बढ्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत