राजनीति

माओवादीको छहारीमा : बाबुराम र वामदेवलाई पार्टीको चुनाव चिह्न दिने माओवादीको निर्णय

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले संसदीय चुनावमा नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई र राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई हँसिया हतौडामा चुनाव लड्न सहमति दिएको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न दिने निर्णय गरेको हो ।

योसँगै बाबुराम र वामदेव माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हतौडाबाट निर्वाचन लड्ने भएका छन् ।

२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया-१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए । 

एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका उनी पछिल्लो वामपन्थी घटक मिलाउने अभियानमा सक्रिय थिए ।

भट्टराईले भने २०७४ मा कांग्रेससँग गठबन्धन गरेर गोरखा-२ बाट प्रतिनिधि सभा सदस्य जितेका थिए । 

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दल दर्ताको समय आज सकिँदै छ । एकल चुनाव चिह्नका लागि दल दर्ता गर्दा नै निवेदन दिनुपर्ने भएकाले नेताहरू निर्वाचन आयोग जाँदै छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत