दिगोविकास

के भयाे निर्वाचनमा सिट बाँडफाँटका लागि बनाइएकाे सत्ता गठबन्धन कार्यदलकाे बैठकमा छलफल ?

फाइल तस्बिर

काठमाडाैं । सत्ता गठबन्धन कार्यदलले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड तय गरेको छ । 

सोमबार बालुवाटारमा बसेको सिट बाँडफाट कार्यदलको बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनाएर मापदण्ड बनाउनेबारे छलफल भएको बताए ।

तर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी नयाँ भएको कारणले विशिष्ट रूपमा राखेर मापदण्ड तय गर्ने पनि उनले बताए ।

‘माधव नेपालको एकीकृत समाजवादी पार्टीले ७४ सालको चुनाव लडेको छैन । यसलाई एउटा विशिष्ट रूपमा राखेर मापदण्‍ड तय गरी अगाडि बढ्छौं,’ उनले भने, ‘सिट बाँडफाँटको टुंगो अब हामीले चाँडो गर्नुपर्छ । हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनसाय छ ।’ 

उनले सत्ता गठबन्धनको कार्यदलले नै अन्तिम प्रतिवेदन निर्माण गरेर शीर्ष तहमा बुझाउन प्रयास गर्ने बताए । 

कार्यदलको अर्को बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

  

गाउँ सहर संवाददाता

तपाईँको मत