राजनीति

कांग्रेस बैठकले गर्‍याे यी पाँच महत्वपूर्ण निर्णय (सूचीसहित)

फाइल तस्बिर

काठमाडाैं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । कांग्रेसको विधानअनुसार पार्टीले कमिटीले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्नेछ जसमा एक जना महिला अनिवार्य हुनुपर्छ ।

बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उमेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिष्पर्धामा उठाउने उमेदवारलाई उमेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । 

आजको बैठकले मङ्सिर ४ गते हुने निर्वाचनका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टी मुख्यसचिव कृष्ण पौडेललाई दिएको छ । त्यस्तै पार्टीले यसअघि पार्टीको केन्द्रीय समिति बैठकले तय गरेको भदौ २ गते २५ गते देखि चुनावी अभियानको मितिलाई परिमार्जन गर्दै भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले साउन ३० र ३१ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय पनि गरेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत