गाउँ सहर

यहाँ त ‘काेर’ एरियाका मात्र फाेहाेर रातारात उठ्छन्, ‘पेरिफेरी’ का त जनता नै हाेइनन्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । महानगरले काठमाडौँको मुख्य शहर क्षेत्र ‘कोर एरिया’ को फोहोर उठाउन शुरु गरेको हो ।

वर्षायामको समय र कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको समयमा फोहोरको थुप्रो लाग्दा महामारी फैलिने चिन्ता थपिएको छ । यता काेर एरियाका मात्र फाेहाेर उठेका छन् भने सहरभित्रकै पेरिफेरीमा दुर्गन्धले बसिसक्नु भएकाे छैन । ठूला सडकमा र गल्लीमा महानगर र फाेहाेर उठाउने ठेकेदारकाे असमानता कायमै छ । पैसा लगिन्छ तर समयमा फाेहाेर उठ्दैन ।

यसै परिवेशमा काठमाडौँभित्र थुप्रिएको फोहोरलाई लिएर बिहीबार बसेको महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको थियो । बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरू मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत भएका थिए । जवाफमा मेयर साहले मुख्य शहर क्षेत्रको फोहोर राति नै उठाइने बताएका थिए ।

कोर एरियामा पर्ने १२ वटा वडाको फोहोर गएराति उठाएर टेकुस्थित प्लान्टमा लगिएको छ । आजदेखि गाईजात्रा पर्व भएकाले पनि ती क्षेत्रको फोहोर राति नै उठाइएको हो । ‘कोर एरियाको विशेषतः गाईजात्रा निकालिने क्षेत्रको फोहोर राति नै उठाएर टेकु लगिएको छ,’ प्रवक्ता मानन्धरले भने, ‘बन्चरेडाँडामा भएको अवरोध र सडक मर्मतका लागि पनि प्रयास भइरहेको छ ।’

ल्यान्डफिल साइट बञ्चरेडाँडामा फोहोर आजैबाट लान सकिने मेयर शाहले बताएका छन् । बिहीबारको कार्यपालिका बैठकमा बोल्दै उनले आजबाट बञ्चरेडाँडामा फोहोर लानेगरी तयारी भएको जानकारी गराएका थिए ।

केही हप्तादेखि उठ्न नसकेको काठमाडौँभित्रको फोहोरले सडक र पेटी दुर्गन्धित भएका छन् । काठमाडाैँ उपत्यकाका चाेक, सडकमा फाेहाेरका थुप्राेमात्रै देखिन्छन् । सर्वसाधारणहरू नाक थुन्दै हिँड्नुपरिरहेकाे छ । हप्ताैँदेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । दिर्घकालीन उपाय नसाेचिँदा याे समस्या बिकराल बन्दै गएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत