खेल

पोखरामा नवौं राष्टिय्र खेलकुद प्रतियोगिता लक्षित अभिमुखीकरण तालिम

पोखरा । पोखरामा नवौं राष्टिय्र खेलकुद प्रतियोगिता लक्षित अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् ।

नवौं राष्ट्रि खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको एकदिने अभिमुखिकरण तालिममा गण्डकी प्रदेशका जिल्ला तथा प्रदेश स्तरिय खेल संघ तथा क्रियाशिल क्लबका पदाधिकारी गरेर झण्डै १ सय जनाको सहभागीता रहेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले बताए ।

खेलसंघ तथा क्लबलाई संस्थागत रुपमा अगाडि बढाउन सहजता प्रदान गर्ने हेतुले कार्यक्रम गरिएको उनले खुलाए । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतालाई लक्षित गरेरै कार्यक्रम गरेका हौं, अभिमुखिकरण तालिम पश्चात खेल संघ तथा क्लबहरुलाई संस्थागत रुपमा कार्यसम्पादनलाई प्रभावकारी बनाउन सघाउनेछ’ सदस्यसचिव गुरुङले भने ।

खेलकुदको विकास सम्बन्धमा गण्डकी प्रदेश सरकारको नीतिगत व्यवस्था, तयारी अवधारणाको बारेमा नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीले सबैलाई जानकारी गराए । उनले अभिमुखिकरण कार्यक्रमको उद्घाटन समेत गरेका थिए ।

नेतृत्व अभिमुखीकरण सम्बन्धमा नेपाल ओलम्पिक कमिटिको साइकोलोजी विभाग प्रमुख इन्द्रबहादुर गुरुङ र ओलम्पिक मुभमेन्टको बारेमा नेपाल ओलम्पिक एकेडेमीका निर्देशक रविराज कर्निकारले प्रकाश पारे । यसैगरी खेल संघ तथा क्लबले राख्ने लेखा प्रणाली र लेखा व्यवस्थापनको बारेमा प्रदेश खेलकुद परिषदका लेखापाल निलकण्ठ ढकालले जानकारी गराएका थिए । 

 नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलकुद भएको ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेकोले यसलाई गण्डकी प्रदेशका खेलसंघ तथा क्लबले चासोको रुपमा हेरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत