गाउँ सहर

नेपाल–चीन सम्बन्ध : चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोगको घोषणा

 

काठमाडाैं । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् । 

सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृत्लिगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवद्र्धन गर्ने सहमती भएको बेइजिङस्थित नेपाली दुताबासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

भेटवार्तामा चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी (८०० मिलियन आरएमबी) सहयोग गर्ने घोषणा गरेको हो ।

भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भेटवार्तामा परराष्ट्रमन्त्री डा खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने बताएको चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी विदेशमन्त्री वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन दोहोर्‍याउँदै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिएका थिए।

दुई मन्त्रीले विगतमा उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा चीनको सहयोगमा सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई तिब्रता दिन सहमत भएका छन् । त्यसमा चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डललाई चीनले काठमाडौँ चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने आश्वासन दिएको छ ।

विदेश मन्त्री वाङले अनुदान सहयोगमा चीनले केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे । उनले यसअघि सन् २०२२ को मार्चमा नेपाल भ्रमणमा सहमति भएको नेपाल–चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिए ।

सो अवसरमा मन्त्री वाङ यीले नेपाललाई सन् २०२२ मा ८० करोड आरएमबी उपलब्ध गराउने घोषणा गरे । नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न विचार गर्ने आश्वासन पनि दिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत