गाउँ सहर

अब ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका सातै प्रदेशमा लागू हुने

काठमाडाैं । सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका २०७७ लागू हुने भएको छ । निर्देशिकाअनुसार परीक्षार्थीले ट्रायल दिँदा विभिन्न चरणमा ७० अंक ल्याए पास हुने प्रावधान छ ।

निर्देशिका बनेको झन्डै दुई बर्षसम्म पनि कार्यान्वयनमा आउन नसकेको ७० अंक प्रणाली लागु गर्न सातै प्रदेशका यातायात मन्त्रीबीच सहमति भएको छ ।

सोमबार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सातै प्रदेशका यातायात मन्त्री सहित बसेको बैठकले सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ सबै प्रदेश कार्यालयहरुले अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

सातै प्रदेशका मन्त्रीहरुको सयुक्त बैठकले अंक प्रणाली कार्यान्वयनमा आए यातायात विचौलिया हट्ने र सडक सुरक्षाको निम्ती  पनि कुनै खतरा नहुने निष्कर्ष निकालेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले अंक प्रणालीलाई तत्काल कार्यान्वयन गराएर विचौलियालाई हटाउने बारे छलफल भएको बताए ।

‘मन्त्रीज्युहरुको छलफलमा अंक प्रणाली लागू भए भिडभाडको अत्य हुने, सडक सुरक्षाको बिषयमा खतरा नहुने र विचौलियाको अन्त्य हुने निष्कर्ष निस्किएपछि सहमति भएको हो’ ती अधिकारीले भने ।

यस अघि बाग्मती प्रदेशका यातायात मन्त्री घनश्याम दाहाल अंक प्रणालीको विपक्षमा उभिएको थिए । उनले अंक प्रणाली कार्यान्वयन नगराउने पक्षमा रहेको बताएका थिए ।

अब भने एक महिना भित्र सातै प्रदेशमा लागू गर्ने तयारी रहेको ती अधिकारीले बताए ।

यातायात व्यवस्था विभागले करिब एक बर्ष लगाएर लाइसेन्स परिक्षा निर्देशिका जारी गरेको थियो । जसमा १०० पुर्णाङ्कमा ७० अंक ल्याए ट्रायल परिक्षा पास हुने व्यवस्था छ । तर, यो प्रणाली गण्डकी प्रदेशले मात्रै कार्यान्वयनमा ल्याए पनि अन्य प्रदेशले भने आनाकानी गर्दै आएका थिए ।

बैठकमा संघीय भौतिक पूर्वाधार तथा यातयात मन्त्री मोहम्मद इस्तियाक राई, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी, कर्णली प्रदेशका पदम महादुर रोकाया, लुम्बिनी प्रदेशका यातायात मन्त्री पूर्मती ढेगा सहभागी थिए ।

त्यस्तै गण्डकी प्रदेशका मन्त्री कुमार खड्का, बाग्मती प्रदेश यातायात मन्त्री घनश्याम दहाल, मधेस प्रदेशका मन्त्री रामसरोज यादव, प्रदेश १ का यातायात मन्त्री उपेन्द्र प्रसाद घिमिरे सहभागी थिए ।

यस्तो छ अंक प्रणालीमा गरिएको व्यवस्था,के गर्दा पास हुने ? के गर्दा नहुने ?

ए र के वर्गको हकमा पहिलो चरणको घुमाउरो ८ को अंकभार २० कायम गरिएको छ । एकपटक अंकित रेखा छोएमा ५ र एक पटक खुट्टाले भुइँमा टेकेमा ५ अंक काटिनेछ । त्यस्तै, एक पटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै खुट्टाले भुइँमा टेकेमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा र सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ ।

दोस्रो चरणको साँघुरो फलेकको अंकभार १० कायम गरिएको छ । यो चरणमा खुट्टाले भुइँमा टेकेमा र फलेकको लम्बाइ पार गर्नुअगावै सवारी फलेकबाहिर निस्केमा परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ ।

त्यस्तै, तेस्रो चरणको यू–टर्नको अंकभार १० कायम गरिएको छ । यसमा इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।

चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ छ । संकेत पालना नगरे १५ नम्बर घटाइनेछ भने फेल भने हुने छैन ।

त्यसैगरी, पाचौँ चरणमा रहेको बम्पसको अंकभार १५ छ । यसमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ । त्यस्तै, एकपटकभन्दा धेरै खुट्टाले भुइँमा टेकेमा र एकपटकभन्दा धेरै स्टार्ट बन्द भएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।

छैटौँ चरणमा रहेको र्‍याम्प (उकालो/ओरालो) को अंकभार २० छ । यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ ।

त्यस्तै, अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूमा सामान्य निरीक्षण नगरे ३, हेल्मेटको लक नलगाई सवारी चलाए ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाए ३ नम्बर काटिनेछ ।

विभागले बी क्याटगोरीका लागि पनि सातवटा चरण बनाएको छ । पहिलो चरणको घुमाउरो ८ को अंकभार २० छ । यसमा दुई पटकसम्म अंकित रेखा छोएमा ५/५ अंक काटिनेछ ।

त्यस्तै, एक पटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा, अगाडि बढ्ने क्रममा सवारीलाई पछाडि सारेमा भने परीक्षार्थीलाई अनुत्तीर्ण गरिनेछ ।

त्यसैगरी, दोस्रो चरणको उबडखाबडको अंकभार १० कायम गरिएको छ । यसमा एकपटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ भने एक पटकभन्दा धेरै स्टार्ट बन्द भएका परीक्षार्थीलाई फेल गरिनेछ ।

तेस्रो चरणमा यू–टर्नको अंकभार १० छ । यसमा ट्रेनिङ इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण गरिनेछ । त्यस्तै, चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ कायम गरिएको छ ।  संकेत पालना नगरे १५ नम्बर घटाइए पनि फेल भने नगरिने बताइएको छ ।

पाचौँ चरणमा रहेको र्‍याम्प (उकालो/ओरालो) को अंकभार १५ छ । यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ ।

छैटौँ चरणमा रहेको ग्यारेज पार्किङको अंकभार २० छ । यसमा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकसम्म अगाडि सरेमा १० नम्बर काटिनेछ भने पछाडि गुडाउने क्रममा एक पटकभन्दा धेरै अगाडि सरेमा र अंकित रेखा छोएमा परीक्षार्थी फेल हुनेछ ।

त्यसैगरी, सातौँ र अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूका सामान्य निरीक्षण नगरे, सिटबेल्ट नलगाई चलाएमा ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ नम्बर काटिनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत