गाउँ सहर

जथाभावी हर्न नबजाउनु भनेकाे भाेलिपल्टै उलङ्घन गर्ने १०३ सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यकामा नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको भाेलिपल्टै जथाभावी हर्न बजाउने सयभन्दा बढि सवारी चालक कारबाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लङ्घन गर्दै जथाभावी हर्न बजाउने १०३ जना सवारी चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

फुटपाथमा पार्किङ गर्ने १७३ जना, मदिरा पिएर सवारीसाधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना, तीव्र गतिमा सवारीसाधन चलाउने ६५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८७ जना कारबाहीमा परेका छन् । 

सडक लेन उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारीसाधन चलाउने ३९ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २० जना चालकहरू रहेका प्रहरीले जनाएको छ । 

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आइतबार एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः शुरू गरेका थिए ।

नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनका लागि पद्मकन्या बहुमुखी क्याम्पसका १०० जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।

हर्नले ध्वनी प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः शुरू गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले बताएका थिए ।

काठमाडौं उपत्यकामा ध्वनी प्रदुषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेदेखि नो हर्न लागू गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दाबाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ । कार्यक्रम रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट शुरुवात भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत