अर्थतन्त्र

धौलागिरि लघुवित्तको आईपीओ आजदेखि भर्न पाइने

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । 

कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको तीन लाख नौ हजार २९५ कित्ता आईपीओका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ ७ गतेसम्म आवेदनका लागि समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल  रहेको छ । इच्छुक आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस आईएस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझिन्छ ।

हाल कम्पनीको चुक्ता पुँजी सात करोड रुपैयाँ छ । यो आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात् कम्पनीको चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत