गाउँ सहर

निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता

काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ । 

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिए । उनले भने, “आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।” आयोगको परामर्शमा सरकारले मङ्सिर ४ गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ । कार्यतालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु भएसँगै निर्वाचन कार्यक्रम टुङ्गिने छ । उक्त अवधिका लागि आयोगले ७६ वटा कार्यक्रम तय गरेको छ । यद्यपि आयोगले तालिकामा केही संशोधन हुनसक्ने जनाएको छ ।  

आयोग उच्च स्रोतका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ । 

घटस्थापनाको भोलिपल्ट असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुनेछ । असोज १९ गते विजयादशमी परेको छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । 

असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । 

आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । 

समानुपातिकतर्फको कार्यक्रम स्वीकृत हुँदै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत हुने क्रममा छ । समानुपातिक निर्वाचन प्रणालीका लागि आयोग परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । आयोगका अनुसार साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । 

निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची बुझाउने छन् । आगामी चुनावबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत