गाउँ सहर

परराष्ट्रमन्त्री ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन जाँदै

काठमाडाैं । परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदै छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् ।

उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ ।

शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो । भ्रमणमा दुई मुलुकबीच सन् २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा लिएर अघि बढ्ने वातावरण बनाउने गरी भ्रमणको गृहकार्य भएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले परराष्ट्रमन्त्रीको चीन भ्रमणका दौरान दुई मुलुकबीचका विद्यमान विषयमा छलफल हुने बताए । 

चिनियाँ पक्षले यस भ्रमणबाट नेपाली पक्षसँग रणनीतिक सम्पर्कलाई थप सुदृढ गर्ने, एकअर्कालाई दृढताका साथ सहयोग गर्न र विकास तथा समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारीलाई अगाडि बढाउन सघाउने अपेक्षा गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत