सडक/यातायात

साझा यातायातका बिजुली बस चढ्न कुन रूटमा कुर्ने ?

काठमाडाैं । साझा यातायातले बिजुली बस सञ्चालनमा ल्याएकाे छ । आज बिहीबारदेखि तीनवटा  विद्युतीय बस सञ्चालनमा ल्याएको हाे । साझाले तीन वटा बिजुली बस काठमाडाैंमा चलाउन शुरू गरेकाे हाे । 

खरिद गरिएका ४० मध्ये ३७ वटा विद्युतीय बस साउन मसान्तसम्म भित्र्याउने साझाको योजना छ । 

यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । बस अपाङ्गतामैत्री छ । अपाङ्गता भएकाहरुले  ह्वीलचियरसहित सजिलै यो बस चढ्न सक्नेछन् । सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लोर बस हो । यसमा ज्येष्ठ नागरिक, अशक्त र बालबालिका सजिलै चढ्न र ओर्लन सक्छन् ।

बसमा एक चालक र एक अपाङ्गता भएकाका लागि छुट्याइएकाे सिटसहित जम्मा २६ सिट रहेको छ । यस्तै, उभिएर यात्रा गर्न सजिलो होस् भन्नका लागि ह्याण्डल बार राखिएको छ । यस्तै, बसमा सीसीटीभी, टीभी, वाईफाई, डस्बिन र बस रोक्न विशेष खालको बटमको सुविधा रहेको साझाले जनाएको छ ।

बसमा १ सय ६१ दशमलव २८ किलो वाटको ब्याट्री प्रयोग गरिएको छ । बस ४५ किलोवाटको चार्जमा ५ घन्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले बताए ।

बिजुली बस कुन रूटमा चढ्न पाइन्छ ?

रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा दुई वटा बस चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने छ । 

सरकारले विजुली बस खरिद गर्न साझा यातायात सहकारीमा तीन अर्ब बजेट लगानी गरेको थियो । बस खरिदबारे साझाको विशेषज्ञ टोलिले अनुसन्धान अगाडि बढाएको थियो । १६ महिनापछि सरकारले साझा यातायातलाई ०७७ फागुन २ को मन्त्रालयको पत्र रद्द गर्दै अवरोध हटाएपछि विज्ञ टोलीले काम पपुनः अगाडि बढाएर अन्तर्राष्ट्रिय बोलपत्रद्वारा खरिद प्रक्रिया अघि बढाइएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत