कला

लघुकथा : धान दिवस

आमाले खेततिर नजर लगाउँनुभयो । आज असार पन्ध्र । कति खुशीयाली थियो त्यो बेला । खेतमा बीउ उखेल्ने । जोत्ने । आली लगाउने । बीउ रोप्ने । त्यसमाथि असारे गीतले पाखा थर्कन्थ्यो । हिलो छ्यापाछ्याप हुन्थ्यो । दिन गएको पत्तै हुदैनथ्यो । असारे गीतको लयमा । यसरी हेर्दा हेर्दै कयौँ फाँट कान्ला टारी सबै रोपेर सकिन्थ्यो । अझ त्यही दिनमा दही च्यूरा केरामा मुछेर खाने चलन थियो । अनि केही दिनपछि ती सबै फाँटहरु हरियालीमा परिणत हुन्थे । हेर्दाहेर्दै धान पाक्थ्यो । पर्म लगाएर काटिन्थ्यो । कुनै खेत बाझो हुँदैनथ्यो । त्यही भएर होला यो देशलाई कृषि प्रधान देश भनेको । त्यो बेलामा कति धेरै धान बेचिन्थ्यो ।

समयको परिवर्तनसँगै आज आमाको मुख न्याउरो भएको छ । आमा बितेको असार पन्ध्र सम्झेर फाँटतिर हेर्दै बलिन्द्र धारा आँशु बगाइरहनु भएको छ । ती सबै फाँटहरु अहिले नाङ्गा छन् । कुनै खेतमा रोपाइ हुँदैन । गर्ने कसले ? गर्न सक्ने सबै विदेश गएका छन् । हेर्दाहेर्दै सबै खेत बाँझिएका छन् । पहिले उत्पादन धेरै भएर बेच्ने घरमा अचेल अनाज किन्नु परेको छ । त्यस्तै तरकारी फलफूल किन्नु परेको छ । आज गाउँमा झन् अचम्मै भएको छ । गाउँ अध्यक्षले सबैलाई एकएक गरेर गमला बाँडेका छन् । गाउँलेहरुले जिल्ल पर्दै भने । यो गमला हामीलाई किन दिएको हो ? अध्यक्षले भने । "आज असार पन्ध्र । कृषिमन्त्रीले टिभीबाट गमलामा धान रोपेर तीन बजे उद्घाटन गर्ने रे ? त्यसैले धानदिवस मनाउन सबैले उहाँलाई साथ दिन गमलामा तीन बजे नै धान रोप्ने रे । त्यसैको लागि यो गमला बाँडेको हो । "

तपाईँको मत