खेल

नेपालद्वारा ओमान ७ विकेटले पराजित, अर्काे खेल अमेरिकासँग आजै खेल्ने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय सिरिजमा नेपालले सानदार जित हासिल गरेकाे छ । 

आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हाे ।

आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेपछि ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

आसिफले ६२ रन बनाए । कुशल ५६ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले ५२ रनको अर्धशतकीय इनिङ खेले । सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन जोडे ।

ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट लिए । उनले ९ ओभरमा मात्र ३३ रन खर्चिए । कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

यस जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेको छ । नेपाल पाँचौं स्थानमा उक्लिएको छ ।

ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

नेपालले ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ  । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।

सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध आज बुधबार  राति खेल्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत