अर्थतन्त्र

बागमती प्रदेशको नीति तथा कार्यक्रम साेमबार

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते हुनेभएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा आज सम्पन्न कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।   

जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने बताइएको छ । त्यही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने तथा जेठ १७ गते त्यसमाथि छलफल हुने कार्यसूची तय भएको हो । 

जेठ १८ गते छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ । बैठकमा संसद् सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको पाँच अध्यादेश पेश हुने कार्यक्रम छ । 

प्रदेशसभामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्नेछन् । यसैगरी प्रदेशसभामा प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश २०७८ पनि पेश हुने सचिवालयले जनाएकाे छ ।   

गाउँ सहर संवाददाता

तपाईँको मत