ब्लग

‘बिकेर हाेइन साेचेर मत हालाैँ, पछुताउने काम नदाेहाेर्याउँ’

  • अनुसा थापा
  • २८ बैशाख बुधबार, २०७९ | ०९:३१:०० मा प्रकाशित

बैशाख ३० गते स्थानीय चुनाव छ । अहिले मुलुक नै चुनावमय भएको छ । भोट हाल्नका लागि आफ्नो जन्मथलो फर्किनेको भीड छ । राजनीतिक दलहरुले पनि मत हाल्नकै निम्ति भनेर आफ्नो खर्चमा गाडीका गाडी मान्छेहरु लगिरहेका छन् । सित्तैमा घर जान र मासुभात खान पाउने भएपछि नेपालीहरुपनि वाध्यताले मख्ख परेका छन् । अनि, देशको विकास होला ?

एउटा गाडीको टिकट, मासुभात र दारुका लागि आफ्नो अमूल्य भोट असक्षम व्यक्तिलाई दिने हामी जनता नै हो । राम्रालाई होइन् खर्च गर्न सक्नेलाई चुन्ने हाम्रो प्रवृत्तिका कारण यस्तो भयो । प्रतिनिधिहरुले आज खर्च गर्छन्, भोलि साहुँव्याज नै उठाउन खोज्छन् । आफ्नो खर्च उठाउन उसले ठेक्कापट्टा गर्दा कमिशन खान्छन्, कुर्सीमा बसुन्जेल सक्दो भ्रष्ट्राचार गर्छन् । प्रतिनिधिहरुलाई भ्रष्ट्राचार गर्न बाध्य बनाउने हामीहरु नै हाैँ । याे कुरालाई हामीले अझैपनि नजरअन्दाज गरिरहेका छाैँ ।

मताधिकार गर्न पाउनु हरेक जनताको हक हो । तर, पैसाको लोभमा हकअधिकार नै दुरुपयोग भएको छ । एकछिनकाे लोभले पाँच वर्षको निम्ति सबैले दुःख पाउँछन् । आज मत दिन्छन्, भोलि काम गरेन् भनेर सराप्छन् । आफूलाई ठिक लाग्ने, काम गर्न सक्छ भन्ने खालको प्रतिनिधिलाई मत दिनुपर्छ । ताकि भोलि देशको विकास होस् भ्रष्ट्राचार होइन् । अहिले कुनै पार्टीको कार्यकर्ता भएर भोट माग्दै हिँडेका छन् ।

कुनै पैसाको लोभमा भोट दिन तयार भएका छन् । हाम्रो भोटबाट चुनिएका त्यस्ता प्रतिनिधिले देशको हालत कस्तो होला ? कति भ्रष्ट्राचार गर्ला ? सोचेका छैनौँ । गणेशमान सिंहले सबै नेपाली भेडा हुन् । एउटा भेडा हाम्फाल्यो भन्यो सबै हाम्फाल्छ भनेर उनले नेपाली जनतालाई लिएर उदाहरण दिएका थिए । पछिल्लो समय साक्षरतादर बढ्दो छ । केही नभए पनि अक्षर चिन्न र सहिगलत छुट्याउन सक्ने भएका छन् ।

सञ्चारमाध्यमका कारण उनीहरुमा धेरै चेतना आइसकेको छ । उनीहरु कमाउन सक्ने पनि भएका छन् । तर, नेपाली जनताको व्यवहारमा किन परिवर्तन आएन् ? योभन्दा अघिको चुनावमा पनि मासुभात, दारु र गाडीभाडाका कारण देश नै सखापै बन्यो । तर, अझै पनि नेपालीको सोचाइमा परिवर्तन नआउनु लज्जास्पद कुरा हो । महँगो लुगा लगाउँछौ, घाँटीमा सुनको सिक्री लगाउँछौ तर भोट हाल्नका लागि सित्तैको गाडीमा चढ्छौँ ।

अनि देश बिगार्ने नेता कि जनता ? आफ्नै कर्तुतका कारण देश बिग्रिएको हो भनेर कुनै नेपालीले आफूमाथि प्रश्न उठाएका छन् ? अरुलाई दोष दिएर आफुलाई चोखो बनाउन खोज्छन्, नेपाली । चुनाव ढोकैमा आइसकेका छ । सरकारले पटकपटक आफ्नो अधिकारको प्रयोग सही ठाउँमा गर्न आग्रह गर्दै आएको छ । लहैलहैमा लागेर र चिप्लो कुराको पछि परेर देशको स्थिति थप जटिल नबनाऔँ । हिजोको दिन मिठा कुराको पछि लाग्दा पाँच वर्षमा देश विकास होइन् विनास भयो ।

२०७४ सालमा जनप्रतिनिधि भएर आएकामध्ये कसैले पनि केही काम गरेनन् । बल्लतल्ल तिनीहरुलाई हटाउने मौका हामीले पाएका छौँ । फेरिपनि त्यस्तो पछुताउने दिन नआओस् । जनप्रतिनिधिहरु सक्षम नहुँदा जनताको ढाड सेकिएको छ । महँगीले सीमा नाघेको छ भने बेरोजगारी दिनप्रतिदिन बढ्दै गएको छ । खोलानाला, गुठी र सरकारी जग्गा सबै व्यक्तिको नाममा गइसकेको छ ।

ठेक्कापट्टाको नाममा करोडौंको चलखेल जनप्रतिनिधिहरुले गरे । आफूलाई भोट दिएर जनप्रतिनिधिहरुले समेत जनतालाई गनेनन् । घरमै भएपनि नभएको बहाना बनाएर दुःख दिएको हामीले नबिसाऔं । वडाध्यक्ष र मेयरले छिनमा हुने कामका निम्ति महिनादिन अल्मल्याएको कुरा सबैलाई स्मरण नै होला । राज्यबाट सित्तैमा हुने कामका लागि पनि पैसा मागेको बिसर्न मिल्दैन ।

वडा, नगरपालिकामा काम लिएर पुग्दा भेट्न नदिने र फोन गर्दा पनि नउठाउने । काम गर्न छोडेर ठेक्कापट्टा र कमिशन खोज्दै हिँड्ने । वडाध्यक्ष र मेयरले धेरै भ्रष्ट्राचार गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका घटनाहरु थुप्रै छन् । आफ्नो आफन्तलाई रोजगारी दिने र आफ्नैलाई ठेक्कापट्टा मिलाउने काम यिनीहरुद्वारा नभएको होइन ।

यसअघिको चुनावमा जनप्रतिनिधिहरुले हामीलाई तलबभत्ता र सेवासुविधा केही चाहिँदैन भनेर भोट लिए । तर, उनीहरुले तलब पनि लिए, सरकारी गाडी पनि चढे । पार्टीले फेरिपनि उही कोमचोर जनप्रतिनिधिहरुलाई टिकट दिएको छ । चुनाव जितेपछि पाँच वर्षको अवधिमा एकचोटि पनि जनताको ढोकामा नपुगेका जनप्रतिनिधिहरु अहिले पुनः जनताको ढोका ढक्ढकाउन पुगेका छन् ।

घरदैलो कार्यक्रम भन्दै झुठा आश्वासन बाँडे । तसर्थ नेता चयनमा नबिकाैँ । विचार पुर्याएर मात्र अमूल्य मत खसालाैँ । तर सबै राजनीतिक पार्टीले चुनाव लड्नका लागि पैसा लिएका छन् । चुनावभन्दा पछि देशको स्थिति कतातिर मोडिन्छ ? चर्चा सुरु भएको छ । चुनावपछि खाद्यान्नको मूल्य ह्वात्तै बढ्छ । इन्धनको भाउ बढाउन आयल निगम तयारी अवस्थामा बसेको छ । मुलुक आर्थिक संकटको दलदलमा फस्दै जान्छ । चुनाव खर्च भनेर राजनीतिक दलहरुले बैंकबाट २८ अर्ब रुपैंया निकालेका छन् ।

वित्तीय संस्थामा भएको यत्रो रकम राजनीतिक दलले निकाले । जनताले डिपोजिट लगेर राख्नेवाला छैनन् । अब वित्तीय संस्थाको अवस्था झनै नाजुक हुने देखिन्छ । बैंकफाइनान्सलाई ठूलो धक्का पुगेको छ । बैंकफाइनान्स नै रित्तिएपछि अब अर्थतन्त्र थप जटिल हुन्छ । जनताले तिरेको करबाट सरकारी खर्च धान्न सकिँदैन । विदेशी ऋण लिएर मुलुक कतिञ्जेल चल्छ ?

हरेक क्षेत्रमा मन्दी देखिन थालिसकेको छ । यो मन्दी निरन्तर रुपमा जाने हो भने श्रीलंकाभन्दा पनि ठूलो दुर्घटना नेपालमा हुन सक्छ । अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनको निम्ति सक्षम नेताको आवश्यकता परेको छ । देश अर्थतन्त्र नै डामाडोल भएको बेलामा चुनाव हुँदैछ । अर्थतन्त्रलाई सुधार्ने हात जनताको हो । महँगी नियन्त्रण गर्न र अर्थतन्त्रलाई पहिलेकै गतिमा ल्याउन जनताले सही नेताको खोजी गर्नुपर्छ ।

बैंकबाट निकालेको २८ अर्ब रुपैंया मासुभात र दारुमै सकिएको छ । २८ अर्ब खर्च गरेबापत कति उठाउन खोज्ने हो ? यो अकल्पनीय कुरा हो । त्यत्रो पैसा सदुपयोग गर्नुको साटो फोगट्ट खर्च गरियो । यसकारण सहि नेता र नेतृत्व चुनाैँ, पछुताउने काम नगराैँ ।

तपाईँको मत