कला

लघुकथा: परिणाम

  • गंगा खड्का
  • २४ बैशाख शनिबार, २०७९ | १३:३१:०० मा प्रकाशित

उसले छोराको टीकाटालो धुमधामसँग गरिदियो । त्यसै दिन छोराले वर्षौँदेखि राखेको आमाबाबुसँग बसेको प्रोफाइल पिक्चर फेर्‍यो । अनि टीका लगाउँदाको आफ्नो र हुनेवाला दुलहीको फोटो राख्यो । बिहे भएको केही दिनमा उसँगै बसेर चिया, खाजा, खाना खाने समय फेर्‍यो । बिस्तारै उसँग बोल्ने तौरतरिका फेर्‍यो । एक वर्ष नबित्दै भान्सा फेर्‍यो । अनि केही वर्षमै घर र साथ फेर्‍यो।

"देख्यौ त बूढा ! मैले मर्ने बेलामा भनेको कुरा नमानेर छोराले केके नै गर्छ भन्ने सोच्यौ । तीन वर्षको नाबालक छोराले दु:ख पाउला भनेर अर्को बिहे गरेनौ । छोराले सबै कुरा फेरेपछि बल्ल भोग्यौ होला नि कलियुगमा गरेको त्यागको परिणाम !" उसकी स्वर्गवासी पत्नीको आत्माले बारम्बार उसलाई चिमोट्ने गर्थ्यो ।

बूढानीलकण्ठ, काठमाडौँ ।

तपाईँको मत