राजनीति

१३ जिल्लामा पठाइयो मतपत्र, एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने

काठमाडाैं । निर्वाचन आयोगले छपाइ भएका मतपत्र जिल्लामा पठाउन थालेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भई आज कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको छ । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ ।

वैशाख १४ गते काठमाडौँबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी ९ जिल्लामा मतपत्र पठाइनेछ । आजै निर्वाचन सामग्री पुग्न बाँकी डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा नेपाली सेनाको हेलिकोप्टरबाट सामग्री पठाइएको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको छ भने केही स्थानबाट विवरण आउन बाँकी रहेको छ ।

बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाई गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगढीमाई, लहान र कर्जनाह र कालीकोटको पलाता गाउँपालिकाको विवरण पनि प्रविष्ट हुन बाँकी छ ।

मधेस प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशको दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी रहेकामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको लमही नगरपालिकाको विवरण प्रविष्ट भएको छ ।

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आज निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत