राजनीति

चितवन कांग्रेस सभापतिलाई देउवाकाे आग्रह : भरतपुर माओवादीलाई दिनुपर्ने भयो निर्णय सच्याउनुहोस्

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन जिल्ला सभापतिलाई निर्णय सच्याउन निर्देशन दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले चितवनका सभापति राजेश्वर खनाललाई बोलाएर भरतपुर महानगर माओवादीलाई छोड्नु पर्ने अवस्था आएको भन्दै निर्णय सच्याउन भनेका हुन् ।

चितवन कांग्रेसले भरतपुर महानगरको मेयर आफूहरूले पाउनु पर्ने माग राख्दै निर्णय गरेको थियो । गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बाँनिया र चितवन सभापतिसँग छलफल गरेका थिए । यस क्रममा देउवाले चितवन छोड्नु पर्ने अवस्था आएको सुनाए ।

“सभापतिले बोलाउनुभयो, उहाँले बोलाएपछि नआउने कुरा भएन,”चितवन जिल्ला सभापति राजेश्वर खनालले भने, “उहाँले चितवन जिल्लाले गरेको निर्णय सच्याउनुहोस् भन्नुभयो । मैले महानगरपालिका, जिल्लाको निर्णयका बारेमा जानकारी गराउँदै अहिले हामी निर्णय फिर्ता लिने अवस्थामा छैनौँ भनेँ ।”

उनले जिल्लाको निर्णय सच्याउन नसक्ने भन्दै केन्द्रबाटै निर्णय गर्न स्वतन्त्र रहेको तर जिल्लाले विद्रोह गर्न सक्ने चेतावनी पनि दिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत