गाउँ सहर

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट शनिबार रेल उद्घाटन गर्ने

काठमाडाैं । कुर्था–जयनगर क्षेत्रमा सञ्चालन हुने रेलको शनिबार उद्घाटन हुने भएको छ । शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट रेलको उद्घाटन गर्ने भएका हुन् । 

रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आर्थिकन्युज डटकमसंग भने, ‘शनिबार नेपालका प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट रेलको उद्घाटन गर्ने मिति तय भएको छ । उक्त अवसरमा जनकपुरमा एक कार्यक्रम हुनेछ । जसमा भारतीय पक्षका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायत मन्त्री रेणुकुमारी यादवको उपस्थिती हुनेछ ।’

उनका अनुसार उद्घाटनपछि कुर्था–जयनगर रेल सेवाको नियमित सञ्चालन हुनेछ । फागुन १ गतेदेखि जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म दिनको एक पटक रेल बिना यात्रु ‘ड्राइ रन’ भइरहेको छ । लामो समयदेखि नचलाई राखेको हुनाले दिनको एक पटक ‘ड्राइ रन’ गराइएको हो । नेपालका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले सयुक्तरुपमा उद्घाटन गरेपछि यात्रुसहित नियमित रेल सञ्चालन गरिने उनको भनाई रहेको छ । 

उनले जयनगर–कुर्था मार्गमा यात्रु सहित नियमित रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको बताए । उनले भने, ‘हाम्रो पक्षबाट सबै तयारी पुरा भएको छ । नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि यात्रु सहित नियमित रेल गुडाउने भनिएको छ । उद्घाटन भएपछि यात्रुसहित नियमित रेल सञ्चालन हुन्छ ।’

महाप्रबन्धक झाका अनुसार रेल सञ्चालनका लागि कानुन, बजेट, एसओएस, प्राविधिक र आवश्यक कर्मचारीलाई तालिम दिइएको छ । रेल सञ्चालनका लागि ६० जना कर्मचारीलाई भारतीय प्राविधिक र रेलका कर्मचारीले तालिम दिएका हुन् । कुर्थादेखि जयनगरसम्म चल्ने रेल्वे सेवाको भाडासमेत तय भइसकेको छ । कुर्था–जयनगरसम्म सामान्यमा ७० रुपैयाँ भाडादर कायम गरिएको छ भने एअर कन्डिसन (एसी) सहितमा प्रतिव्यक्ति दुई सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । 

उक्त रेलमा १२०० देखि १३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने कम्पनीले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत